काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा कतिपय केन्द्रहरूमा परीक्षा हलभित्रै मोबाइल लैजान दिने गरेको सूचना आएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। सोमबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएकोमा निर्देशन विपरीत केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएकोले त्यसतर्फ बोर्डको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो।
बोर्डले केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी अनियमित कार्य गर्ने परीक्षार्थीहरू समेतको मोबाइल जफत गरी कारबाही गरिएको जानकारी दिँदै अब उप्रान्त समेत परीक्षा केन्द्रमा मोबाइल लैजान पूर्णतः निषेध गरिएको र यदि विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही हुने जानकारी सूचना मार्फत दिएको छ।
बोर्डले केन्द्राध्यक्षहरूलाई सोही अनुसार गर्न/गराउन निर्देशन दिएको छ ।