काठमाडौँ- म्युचुअल एकेडेमिक एक्टिभिटीज फोरम (माफ) ले अधिवेशन सम्पन्न गरेको छ । शनिवार मुलपानी स्थित गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित अधिवेशन आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । यस अघिका अध्यक्ष प्रज्वल कोइरालाले सफलतापूर्वक आफ्नो दुई वर्षे कार्यकाल सम्पन्न गर्दै नेतृत्व हस्तान्तरण गरेका हुन् । अधिवेशनले इशु गुरुङको नेतृत्वमा ९ सदस्य भएको नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा रविन दाहाल, सचिवमा राजेश खरेल, सह-सचिवमा जि एन पाण्डे र कोषाध्यक्षमा राजेन्द्र थपलियाले जिम्मेवारी पाएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा विश्वजित कुँवर, मदन पोखरेल, पुरुषोत्तम देवकोटा र रेगन सिंह चयन भएका छन्। निर्वाचन प्रयोजनका लागी सल्लाहकार त्रय राजु राई, राजन आचार्य एवम् रिता राई दाहाललाई निर्वाचन मण्डलको जिम्मा दिइएको थियो।
अधिवेशनमा सचिव राजेश खरेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र थपलियाले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा माफका सल्लाहकार त्रय राजु राई, राजन आचार्य एवम् रिता राई दाहालले माफका विभिन्न गतिविधि माथि चर्चा गर्दै आगामी दिनमा माफले लिनुपर्ने पहलकदमीको बारेमा विभिन्न सुझावहरू दिएका थिए ।
अधिवेशन समापन गर्दै माफका अध्यक्ष प्रज्वल कोइरालाले दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू तथा माफ सदस्य विद्यालयका सम्पूर्ण प्रिन्सिपलहरूलाई आभार प्रकट गरे। उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।