काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय गरेको छ।
राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पहिचान गरी कारबाही गर्नका लागि विवरण माग्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा उजुरी र गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो प्रक्रिया अघि बढाएको हो।
यस अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने निर्णय गरेकी थिइन् भने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सँग छलफल गरेर उक्त कामका लागि आयोग सँग आवश्यक सहयोग मागेकी थिइन्।
यसअघि नै मन्त्रालयले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाइसकेको छ। पत्रकै आधारमा कतिपय जिल्ला एकाइहरूले कारबाही पनि अघि बढाइसकेका छन्।