काठमाडौं- नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले २०८१ को शुभारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।