Matra Education आइतबार, साउन १० २०८३

ह्याप्पी किड्सको दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न

ह्याप्पी किड्सको दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र २८ २०८०


happy kids

काठमाडौँ- ह्याप्पी किड्स मन्टेश्वरी होम मण्डिखाटार र ह्याप्पी किड्स किन्डरगार्डेन चुनिखेलको दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न भएको छ। सोमबार धुम्बाराही स्थित सूर्य इभेन्ट्समा आयोजित एक कार्यक्रमका बिच फरक फरक सत्रमा यी दुई विद्यालयको दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न भएको हो।

प्रथम सत्रमा सम्पन्न ह्याप्पी किड्स किन्डरगार्डेनको कार्यक्रम प्रिन्सिपल शीतल श्रेष्ठको अध्यक्षता र बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तै ह्याप्पी किड्सकि `बोर्ड अफ डाइरेक्टर´ अन्जना रायमाझीको अध्यक्षतामा र बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि रहेर दोस्रो चरणको ह्याप्पी किड्स मन्टेश्वरी होमको कार्यक्रम सम्पन्न भएको थियो।

ह्याप्पी किड्स किन्डरगार्डेनको कार्यक्रममा प्रमुख अतिथि रहेकी लामाले बालबालिकालाई रचनात्मक र सिर्जनात्मक बनाउन विद्यालयले गरिरहेको मेहनत कार्यक्रममा देखिएको बताइन्। कोपिला जस्ता साना बालबालिकालाई गाउन, नृत्य गर्न सक्ने बनाउनु सानो उपलब्धि नभएको भन्दै उनले उक्त मेहनतका लागि धन्यवाद दिइन्। लामाले विद्यालय पाठशाला मात्रै नभई ज्ञानशाला पनि भएको उल्लेख गर्दै जीवन बाँच्ने सिप आजका विद्यालयले दिइरहेको बताइन्। बालबालिकालाई भोलिको असल नागरिक बनाउन अभिभावक र सम्बद्ध सबै पक्षले सहकार्य गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा बोल्दै ह्याप्पी किड्सका फाउन्डर प्रिन्सिपल कृष्ण कुमार बोहराले विगत १५ वर्षको पूर्वप्राथमिक क्षेत्रको अनुभव यसै खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। मन्टेश्वरीहरुको छाता संगठन अपेनका केन्द्रीय महासचिव समेत रहेका उनले आफू उपत्यकामा पूर्वप्राथमिक विद्यालयमा दीक्षान्त समारोह भित्राउने व्यक्तिहरूमध्ये एक भएको समेत बताए। यो १५ वर्षे यात्रा सहज नभएको स्मरण गर्दै उनले शिक्षालाई सीप सँग र सिपलाई सिर्जना सँग जोड्ने अभियानमा आफूहरू रहेको उल्लेख गरे। नयाँ शैक्षिक सत्र आउन लागेको सन्दर्भ जोड्दै बोहराले बालबालिकाहरूले सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा पाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै दोस्रो सत्रको कार्यक्रमका प्रमुख अतिथि अधिकारीले विद्यालय कस्तो छ भन्ने विद्यार्थीको प्रस्तुतिले देखाइएको उल्लेख गरे। आफ्नै नगर भित्र यति राम्रो स्कुल छ भन्ने थाहा पाएर खुसी लागेको उल्लेख गरेका उनले अन्य विद्यालयमा एउटाले अर्काको नृत्य हेरेर गर्ने गरेको भए पनि ह्याप्पी किड्सले भने प्रत्येक बालबालिकालाई उत्तिकै अब्बल बनाएको आफूले पाएको बताए। अरू विद्यालयमा घोकाई र ह्याप्पी किड्समा सिकाई हुँदो रहेछ भन्ने महसुस आफूले गरेको उनको भनाई थियो । सुन्दर प्रस्तुतिका लागि धन्यवाद । बालबालिकालाई मोबाइल र ‘जङ्क फुड’ को लतबाट बचाउनुपर्नेमा अधिकारीको जोड थियो। उनले मन्टेश्वरी देखि नै स्वदेशमै केही गर्न सकिन्छ भन्ने भाव जगाउने खालको शिक्षा दिइनुपर्नेमा जोड दिए। युवा पलायन रोक्न नगरले पनि रोजगार तथा वृत्ति मेला राखेको र शैक्षिक विकासका लागि शुल्क तथा खाजाका विषयमा नियमित अनुगमन गर्ने गरेको जानकारी उनले दिए। अधिकारीले विद्यालय र विद्यार्थीहरूको अझै धेरै प्रगतिका लागि शुभकामना दिए।

आफ्ना साना छोराछोरी सफलताको बाटो तिर लम्कँदै दीक्षित भएको देखेर खुसीले पुलकित भएका अभिभावकहरूले कार्यक्रममा ह्याप्पी किड्सले उत्कृष्ट काम गरिरहेको भन्दै धन्यवाद दिए। बुढानीलकण्ठ नगर भरिमै अत्यधिक अभिभावकहरूको मन जितेर काम गरिरहेको हुँदा अझै सफल हुने उनीहरूको विश्वास थियो।

कार्यक्रममा साना बालबालिकाहरूले विभिन्न किसिमका प्रतिभाहरू प्रस्तुत गर्दै आफ्ना अभिभावकहरूको मन जितेका थिए।

कार्यक्रम मार्फत ह्याप्पी किड्स मन्टेस्वरी र किन्डरगार्डेन गरी ३६ जना बालबालिकाहरू दीक्षित भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड