Matra Education आइतबार, साउन १० २०८३

मनास्लु वर्ल्ड स्कुलको अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

मनास्लु वर्ल्ड स्कुलको अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र २७ २०८०


manaslu world school

काठमाडौँ- चुच्चेपाटी चाबहिलमा रहेको मनास्लु वर्ल्ड स्कुलले अभिभावक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। सोमवार चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच स्कुलले शिक्षण सिकाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अभिभावकहरूको सम्मानमा दिवस मनाउनुका साथै विभिन्न महत्त्वपूर्ण व्यक्तित्वहरूलाई सम्मानित गरेको हो।

मनास्लु वर्ल्ड स्कुलका प्रधानाध्यापक गेन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री तथा सङ्घीय सांसद गगन कुमार थापा प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै काठमाडौँ महानगरपालिका वडा न ७ का अध्यक्ष विमल कुमार होडा र काठमाडौँ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विचारी प्रसाद अधिकारी विशेष अतिथि रहेको कार्यक्रममा चर्चित गायिका द्वय डोमा ह्योल्मो र रचना रिमाल, जादुगर द्वय राजेन्द्र गिरि र मिना राई गिरि तथा मोडल रुमिना गिरि मुख्य आकर्षणका रूपमा रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहँदा मनास्लुका विद्यार्थी, अभिभावक तथा शिक्षक/कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा वर्षभर सञ्चालित खेलकुद तथा अतिरिक्त क्रियाकलापका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गर्नेहरूलाई पुरस्कृत गरिएको थियो भने युकेजी उत्तीर्ण गरेकालाई दीक्षित गरिएको थियो। त्यस्तै वरिष्ठ कलाकार डोमा ह्योल्मोलाई विशेष सम्मान प्रदान गरेको विद्यालयले विभिन्न मापदण्डका आधारमा छनोट भएका वर्षका उत्कृष्ट अभिभावक, शिक्षक/शिक्षिका तथा कर्मचारीहरूलाई समेत सम्मान गरेको थियो। अनौपचारिक सत्रमा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतका विविध प्रस्तुतिहरू मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन गराएका थिए। विभिन्न धर्म, संस्कृति, भेसभुसा आदिको प्रतिनिधित्व गर्दै मञ्चमा उक्लिएका बालबालिकाहरूको समसामयिक विषयको चेत र उनीहरूका प्रस्तुतिले दिएको सन्देश अर्थपूर्ण देखिन्थ्यो। अतिथि कलाकारहरूको प्रस्तुतिले रौनक छाएको कार्यक्रमलाई ‘याक डान्स’ र विद्यार्थीले तयार पारेको विभिन्न परियोजनाहरूको प्रस्तुतिले थप रोचक बनाएको थियो।

मनास्लु वर्ल्ड स्कुलकी शैक्षिक निर्देशक शशिकला खड्काले कार्यक्रममा विद्यालयको इतिहास देखि आज सम्मको प्रगति, सफलता र आगामी योजनाहरू बारे प्रस्तुतीकरण दिएकी थिइन् । उनले विद्यालय बारे बुझ्न सहज हुने गरी चित्रात्मक प्रस्तुति दिएकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि होडाले अभिभावक, विद्यार्थी र विद्यालयको संयुक्त प्रयासले मात्रै सिकाइ हुने उल्लेख गर्दै अभिभावकको सम्मान गर्ने संस्कृति विद्यालयहरूमा सुरु भएकोमा खुसी व्यक्त गरे। ईश्वरमा आस्था राख्नाले मनुष्य जीवनले सार्थकता पाउने विचार व्यक्त गरेका उनले आमा, बुबा र गुरु भगवानको रूप भएको बताए । अबको शिक्षा नाम मात्रैको शिक्षा नभई गरिखाने शिक्षा हुनुपर्ने भनाई राखेका होडाले सोही अनुरूपको शैक्षिक कार्यक्रम बनाउन विद्यालयलाई आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि थापाले कार्यक्रममा आफूलाई आमन्त्रण गरेकोमा मनास्लु प्रति आभार व्यक्त गरे। सम्मानित हुने सबैलाई बधाई दिएका उनले विद्यार्थीहरूलाई सुन्दर भविष्यको शुभकामना दिए । आफू पनि दुई छोरीको अभिभावक भएको भन्दै उनले आजका अभिभावकले बच्चालाई पढ्न र प्रथम हुन मात्रै दबाब दिने गरेको हुँदा त्यसो नगर्न अनुरोध गरे। पढाई मात्रै भन्दा पनि जीवनका लागि महत्त्वपूर्ण सिकाई आफ्ना छोराछोरीले प्राप्त गरुन् भन्नेमा अभिभावकहरू केन्द्रित हुनुपर्ने उनको भनाई थियो। थापाले अभिभावक र शिक्षक मिले मात्र सिकाई हुने भन्दै बालबालिकालाई असफल हुँदा डराउनु पर्दैन, लड्यो र फेरि मेहनत गर्‍यो भने उठ्न सकिन्छ लगायत ज्ञान दिन र उनीहरूमा आत्मविश्वास जगाउन आग्रह गरे। उनले मनास्लु वर्ल्ड स्कुलको व्यवस्थापन आफूले राम्रोसँग चिनेको भन्दै निश्चिन्त रहन अभिभावकहरूलाई आग्रह गर्दै कार्यक्रम र मनास्लु वर्ल्ड स्कुलको सफलताको कामना गरे ।

कार्यक्रमका सभापति लामाले विगत १८ वर्ष अघि देखि अनवरत रूपमा सङ्घर्ष गर्दै मनास्लु वर्ल्ड स्कुललाई आजको स्थानसम्म ल्याएको स्मरण गरे। १० जना विद्यार्थी बाट सुरु भएको संस्था आज ४०० भन्दा बढी विद्यार्थीको विद्यालय भएको र मनास्लु वर्ल्ड कलेज सम्म आइपुग्दा ३००० भन्दा बढी विद्यार्थी सहितको परिवार हुन सकेको उनको भनाई थियो। भूकम्प, कोरोना लगायतका चुनौतीहरू सँग जुधेर अघि बढ्दै गर्दा ‘मनास्लु टिम अफ इन्टरप्रेनर’ गठन भएको र चुनौतीलाई अवसरमा बदल्दै सो समूह अन्तर्गत रहेर आज मनास्लु वर्ल्ड स्कुल/कलेज सञ्चालन भएको उनले बताए। हरेक चुनौतीहरूमा अभिभावकको दरिलो साथ पाएका कारण संस्था आजको स्थानमा आउन सकेको भन्दै उनले त्यसका लागि आभार प्रकट गरे। उनले अतिरिक्त क्रियाकलाप मार्फत विश्व मञ्चमा प्रस्तुति दिनका लागि मनास्लुका विद्यार्थीहरूले अवसर पाएको भन्दै आगामी दिनमा पनि यस किसिमका थुप्रै कार्यक्रमहरूमा मनास्लुले उत्कृष्टता प्रदान गर्ने बताए। अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुराउनका लागि ‘कल्चरल एक्सचेन्ज’ का कार्यक्रमहरू ल्याउन लागिएको जानकारी उनले दिए। कार्यक्रममा सहभागिताका लागि सबैलाई आभार व्यक्त गर्दै उनले कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड