Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स कलेजको वार्षिक कार्यक्रम सम्पन्न

सेन्ट लरेन्स कलेजको वार्षिक कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र २७ २०८०


St lawrence Annual Program

काठमाडौँ- सेन्ट लरेन्स कलेज चाबहिलले वार्षिक कार्यक्रम सम्पन्न गरेको छ। गत शनिवार जोरपाटी स्थित नयाँ छिमेकी पार्टी प्यालेसमा आयोजित एक भव्य समारोहका बिच कलेजले वर्ष भर गरिएका विविध गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्दै वार्षिक कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमको अनौपचारिक सत्रमा विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएको थियो।

सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिवि कार्यकारी परिषद् सदस्य प्रा डा महानन्द चालिसे प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा न ७ का वडाध्यक्ष विमल कुमार होडा र अनलिमिटेड क्लाउडका सिइओ एलेन बैलोचन विशेष अतिथिका रूपमा रहेका थिए। सेन्ट लरेन्सका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी, प्रधानाध्यापक पुरुषोत्तम महर्जन सहित कलेजका अध्यापकहरूको सहभागितामा सम्पन्न कार्यक्रममा कलेजका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्सका निर्देशक विष्णुहरि न्यौपाने ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारे। उनले सेन्ट लरेन्सले गर्दै आएको क्रियाकलापहरू बारे जानकारी गराउँदै कलेजको छोटो परिचय समेत कार्यक्रममा गराए।

कार्यक्रममा बोल्दै विशेष अतिथि तुलाधरले आजको दिनमा विज्ञान तथा प्रविधि सँग सम्बन्धित विषय अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्ज्वल भएको उल्लेख गरे। उनले आजका विद्यार्थीहरू पढाई प्रति आफैँ प्रेरित हुनुपर्ने धारणा राखे। प्रत्येक विद्यार्थीको अर्जुन दृष्टि पढाई र सिकाइमा केन्द्रित हुन सके मात्रै सुनौलो भविष्य निर्माण हुने उनको भनाई थियो।

त्यस्तै अर्का विशेष अतिथि होडाले आमन्त्रणका लागि कलेज परिवारलाई धन्यवाद दिए । राष्ट्रलाई चाहिने सबै विधाका जनशक्ति कलेजले उत्पादन गरिरहेको देखेर आफू हर्षित भएको उनको भनाई थियो । ईश्वरमा आस्था राख्नाले मनुष्य जीवनले सार्थकता पाउने विचार व्यक्त गरेका उनले आमा, बुबा र गुरु भगवानको रूप भएको बताए । आफू जनप्रतिनिधि भएकाले विधिको शासन कायम गर्न चाहेको र त्यसका लागि असल नागरिक चाहिने भन्दै उनले त्यही काम सेन्ट लरेन्सले गर्दै आएको उल्लेख गरे । सेन्ट लरेन्सका विद्यार्थीले देशको कीर्ति अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने विश्वास आफूले लिएको भन्दै उनले कलेजको उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा विभिन्न परीक्षाहरूमा, अतिरिक्त क्रियाकलापहरूमा तथा खेलकुदका प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो। त्यस्तै वर्ष २०८० को उत्कृष्ट विद्यार्थी, शिक्षक तथा उद्यमी विद्यार्थी विधामा पनि एक एक जना सम्मानित भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि चालिसेले आजका विद्यार्थीहरू स्वावलम्बी र आत्मनिर्भर हुनुपर्ने भनाई राखे। उनले त्रिविले निर्दिष्ट गरेका पाठ्यक्रमहरूलाई विद्यार्थीले आत्मसात् गर्दै अध्ययन गर्नुपर्ने र विद्यार्थी जीवनमा सिपमूलक शिक्षा लिनुपर्नेमा जोड दिए।

कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले चाबहिलमा उत्कृष्ट कार्य र नतिजा सहित सेन्ट लरेन्स कलेज रहेको र निरन्तर रहने बताए। गुणस्तरमा सम्झौता नगरी आफ्नो उद्देश्य पूरा गर्नका लागि कलेज सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो । अभिभावकको सपना, विद्यार्थीको उद्देश्य र देशको आवश्यकता परिपूर्ति गर्न सेन्ट लरेन्स सधैँ सफल भएको उनको दाबी थियो। वर्षौँ देखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा अध्ययन गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने भन्दै उनले औपचारिक कार्यक्रम समापन गरे।

औपचारिक कार्यक्रम समापन पश्चात् सेन्ट लरेन्सका विद्यार्थीका प्रतिभाले भरिपूर्ण मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यार्थीहरूका गायन, नृत्य लगायतका प्रतिभाहरू मनमोहक देखिन्थ्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड