काठमाडौँ- चाबहिलमा रहेको टेक्सास मन्टेश्वरी स्कुलले दीक्षान्त समारोह सम्पन्न गरेको छ। शुक्रवार बिहान विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच टेक्सास मन्टेश्वरीले कक्षा युकेजी पास गरेका ३५ जना विद्यार्थीहरूलाई दीक्षित गरेको हो। टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क द्वारा सञ्चालित टेक्सास मन्टेश्वरीले बालबालिकाहरूको चौतर्फी विकासका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रममा बालबालिकाहरूलाई केकको मिठो स्वाद सहित प्रोत्साहनका लागि दीक्षित भएको प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। हालसम्म टेक्सास मन्टेश्वरीमा पढेका विद्यार्थीहरूबाट कुनै गुनासो नआएको र मन्टेश्वरीलाई अझै विस्तारित गर्ने योजनामा रहेको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष भेष राज पोखरेलले आफ्ना छोराछोरीले समेत टेक्सास मन्टेश्वरी बाटै शिक्षा लिएको उल्लेख गर्दै संस्थाले प्रदान गर्दै आएको शिक्षा सर्वोत्कृष्ट छ भन्नेमा ढुक्क हुन अभिभावकहरूलाई आग्रह गरे।
कार्यक्रम पछि मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले बालबालिकाहरूलाई राम्रो गरियो र मेहनत गरियो भने सम्मानित हुन पाइँदो रहेछ भन्ने भाव जगाउनका लागि कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिए। यस्ता कार्यक्रमले बालबालिकामा उत्साह र उमङ्ग भर्ने र नयाँ किसिमको सिकाई पनि प्रदान गर्ने उनको भनाइ थियो। उक्त कार्यक्रम टेक्सास एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा.डा. गोविन्द प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
मन्टेश्वरी देखि मास्टर्स सम्मको कक्षाहरू सञ्चालन गरिरहेको टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क चाबहिलमा रहेको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित छ।
