काठमाडौँ- टोखा-१ मलुङ स्थित फेरिल्याण्ड मन्टेश्वरीले पहिलो अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ। गत शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रममा बिच शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको सम्मानमा दिवस मनाइएको हो। त्यस्तै कार्यक्रम बाटै विद्यालयले कक्षा युकेजी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरेको हो।
फेरिल्याण्ड मन्टेश्वरीका संस्थापक प्रधानाध्यापक सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगरपालिका वडा न १ का वडा अध्यक्ष रमेश कुमार लामिछाने प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै उक्त वडाकै पूर्व अध्यक्ष श्रीकृष्ण अधिकारी, अपेन केन्द्रीय सदस्य शारदा पाण्डे, अपेन टोखा अध्यक्ष उर्मिला त्रिपाठी, अपेन गोकर्णेश्वर अध्यक्ष प्रकाश अधिकारी लगायत कार्यक्रमको विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो।
विद्यार्थीहरूको गायन र नृत्य प्रतिभा मार्फत भरपुर मनोरञ्जन दिँदै अगाडी बढाइएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत फेरिल्याण्ड मन्टेश्वरीले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । स- साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य, कविता, वक्तृत्वकला आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे।
आफ्ना साना छोराछोरी सफलताको बाटो तिर लम्कँदै दीक्षित भएको देखेर खुसीले पुलकित भएका अभिभावकहरूले कार्यक्रममा फेरिल्याण्ड मन्टेश्वरीले उत्कृष्ट काम गरिरहेको भन्दै धन्यवाद दिए। विद्यालयले आफ्नो क्षेत्रका अत्यधिक अभिभावकहरूको मन जितेर काम गरिरहेको हुँदा अझै सफल हुने उनीहरूको विश्वास थियो।
कार्यक्रममा बोल्ने अतिथि वक्ताहरूले बालबालिकाको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरे। उनीहरूले विद्यालयले गरिरहेको कामबाट आफूहरू प्रभावित भएको भन्दै आगामी दिनका लागि शुभकामना दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले आमन्त्रणका लागि विद्यालय परिवारलाई धन्यवाद दिए। साना बालबालिकाहरूको प्रस्तुति निकै उत्कृष्ट लागेको प्रतिक्रिया दिएका उनले दीक्षित भएका सबै विद्यार्थीहरूको सुनौलो भविष्यका लागि शुभकामना दिए। विद्यालयको अझै बढी प्रगतिको कामना गरेका उनले त्यसका लागि वडाका तर्फबाट गर्नुपर्ने सबै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए। अबको शिक्षा व्यक्तिमा रहेको प्रतिभा पहिचान गरेर त्यसलाई विकास गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेका उनले अभिभावकलाई पढ्नु लेख्नु मात्रै सिकाई हो भनेर नबुझ्न आग्रह गरे।
कार्यक्रमका सभापति श्रेष्ठले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। उनले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरे। विद्यालयका अभिभावकहरू बाट सधैँ रचनात्मक सल्लाह, सुझावको अपेक्षा रहने बताएका उनले विद्यालय सँग सधैँ नजिक रहन उनीहरूलाई अपिल गरे। श्रेष्ठले विद्यालयले आउँदा दिनहरूमा रचनात्मक कार्यक्रमहरू अझै गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रम समापन गरे।
