काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ। बिहीबार सुरु हुने परीक्षा आगामी चैत २७ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ।
यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षामा सामेल हुन फाराम भरेका छन्। ती मध्ये ४ लाख ८० हजार परीक्षार्थीले प्रवेश पत्र लिइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन्।
यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै मधेस प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बिनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोसी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदूरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन्। यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।
बोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष¸ सहायक केन्द्राध्यक्ष¸ निरीक्षक¸ सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटाएको परीक्षा नियन्त्रक पौडेल बताए। यो वर्ष २ लाख ५३ हजार ६ सय २७ जना छात्र परीक्षामा सहभागी हुँदा दुई लाख २ लाख ५० हजार ७ सय ७२ छात्राले परीक्षा दिनेछन्।
परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनेछ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर विद्यार्थीले ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था थियो। तर अब एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने छ।
सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने छ। परीक्षाफल भने तीन महिनामा प्रकाशित गर्ने बोर्डको योजना छ।