काठमाडौँ- ललितपुर स्थित बालमैत्री प्रतिष्ठानको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। शनिवार हरिसिद्धि स्थित विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच बालमैत्री प्रतिष्ठान गोदावरी नगरपालिका १ को १२ औँ तथा बालमैत्री प्रतिष्ठान हरिसिद्धिको चौथो अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरिएको हो। विद्यालयले कार्यक्रम मार्फत शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको सम्मान गर्दै कक्षा युकेजी उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो।
बालमैत्री प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष पविन थापाको सभापतित्व तथा सांसद तोसिमा कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयकी प्रधानाध्यापक बबिता विष्टले अभिभावकहरूको साथ सहयोग र विश्वासले विद्यालय आजको दिनसम्म आइपुग्न सफल भएको भन्दै आभार व्यक्त गरिन्।
राष्ट्रिय भावना बोकेको ‘रातो र चन्द्र सूर्य’ बोलको गीत बाट सुरु भएको कार्यक्रम अवधिभर विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै ललितपुर महानगर वडा नं २९ का वडा अध्यक्ष गणेश महर्जनले विद्यालय संस्थापकको फोटो हेर्दै आफू भावुक भएको बताए। आफ्नै गुरुको विद्यालयको कार्यक्रममा लागेको बताउँदै गुरुका छोराबुहारीले सो कामलाई निरन्तरता दिएकोमा बधाई र सफलताको शुभकामना दिए। उनले आफू बोनम्यारो क्यान्सर पीडित भएर पनि हिम्मतका साथ हिम्मतका साथ वडा बासीको सेवामा समर्पित भएको बताए।
कार्यक्रमकी प्रमुख अतिथि सांसद कार्कीले कार्यक्रम हेर्दै गर्दा आफ्नो बाल्यकाल स्मरण भएको उल्लेख गरिन्। उनले विद्यालय बालबालिकाको दोस्रो घर भएको धारणा राखिन्। उनले हिजोआज अभिभावकले बालबालिकालाई कम समय दिने गरेको प्रति चिन्ता व्यक्त गर्दै पर्याप्त समय दिन अनुरोध गरिन्। आम अभिभावकहरूलाई उनले बालबालिकाका अगाडी गर्न हुने र नहुने क्रियाकलापहरू बारे जानकारी गराइन्।
विद्यालय संस्थापकका कान्छा छोरा समेत रहेका कार्यक्रममा सभापति थापाले आजको चुनौतीपूर्ण समयमा बालबालिकाको नैसर्गिक अधिकारका रूपमा रहेको शिक्षा दिन बाल मनोविज्ञान अनुसारको शिक्षा आवश्यक रहेकोमा जोड दिए। सोही अनुसार आफूहरूले विद्यालयलाई अगाडी लगिरहेको बताएका उनले उपस्थितिका लागि सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरे।