काठमाडौँ- काठमाडौँ महानगरपालिका-१६ वनस्थली स्थित लिटल फ्लावर्स मन्टेश्वरी स्कुलको ७ औँ अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले आफ्नो स्थापना दिवस मनाउनुका साथै कक्षा युकेजी उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो।
लिटल फ्लावर्स मन्टेश्वरी स्कुलका प्रधानाध्यापक प्रेम कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता सङ्गठन अपेनको काठमाडौँ महानगर कमिटी अध्यक्ष तिलक मानन्धर प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयकी शिक्षिका नबिना अधिकारीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिइन्। उनले विद्यालयले वर्ष भरि सिकाएका गतिविधि वार्षिकोत्सव मार्फत आफ्ना अभिभावकलाई देखाउने प्रयास विद्यालयले गरेको बताइन्। त्यस्तै युकेजीको अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई दीक्षित गरेर उनीहरूले प्राप्त गरेको उपलब्धिको सम्मान गर्न र अझै राम्रो गर्न प्रेरित गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको उल्लेख गरिन्।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूका प्रतिभाले भरपुर विविध सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्ना अभिभावकहरूको मन जित्न विद्यालय सफल भएको थियो। स- साना बालबालिकाहरूले देखाएको गायन, नृत्य, वक्तृत्व, वाद्यवादन आदि कला कुनै स्थापित कलाकारको जस्तो देखिन्थ्यो । बालबालिकाको अङ्ग्रेजी भाषाको स्तर र समसामयिक विषयको चेतना लोभलाग्दो थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे।
अभिभावकहरूको तर्फबाट मन्तव्य राख्दै नवराज भट्टले विद्यालयले गरिरहेको सबै क्रियाकलापहरू बाट आफूहरू सन्तुष्ट रहेको बताए। आफ्नी छोरीलाई विद्यालय भर्ना गर्ने क्रममा थुप्रै स्कुलहरू बाट छानेर लिटल फ्लावर्स मन्टेश्वरी आइपुगेको स्मरण गर्दै उनले घरकै जस्तो वातावरण विद्यालयमा पाएपछि भर्ना गरेको बताए। उनले बालबालिकाले दैनिक रूपमा गर्दै आएको प्रगति देखेर खुसी लागेको उल्लेख गरे।
आफ्ना साना छोराछोरी सफलताको बाटो तिर लम्कँदै दीक्षित भएको देखेर खुसीले पुलकित भएका अभिभावकहरूले कार्यक्रममा लिटल फ्लावर्स मन्टेश्वरीले उत्कृष्ट काम गरिरहेको भन्दै धन्यवाद दिए। विद्यालयले आफ्नो क्षेत्रका अत्यधिक अभिभावकहरूको मन जितेर काम गरिरहेको हुँदा अझै सफल हुने उनीहरूको विश्वास थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मानन्धरले साना बालबालिकाहरूको प्रस्तुति निकै उत्कृष्ट लागेको प्रतिक्रिया दिए। उनले विद्यालयले गरिरहेको प्रगति देखेर खुसी लागेको बताउँदै अझै धेरै प्रगतिको शुभकामना दिए। मानन्धरले अपेन मार्फत मन्टेश्वरी प्रि स्कुलहरूलाई सङ्गठित गर्दै एकताबद्ध बनाउने र बालबालिकाको क्षेत्रमा उत्कृष्ट काम प्रयास गरिरहेको उल्लेख गरे। उनले दीक्षित हुँदै गरेका बालबालिकाहरूको सुन्दर भविष्यका लागि शुभकामना पनि दिए।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले विद्यालयले आज सम्म राम्रो काम गर्दै आएको भन्दै आगामी दिनमा अझै धेरै प्रगति गर्नका लागि शुभकामना दिए।
कार्यक्रमका सभापति कोइरालाले देखाउनुपर्ने जति सबै मञ्चमा देखाइसकेको भन्दै ती प्रस्तुति नै विद्यालयको पहिचान भएको उल्लेख गरे। विद्यालय बाट अध्ययन पुरा गरेका बालबालिकाहरूले अन्य विद्यालयमा गएर प्राप्त गरिरहेको सफलताले पनि विद्यालय के हो भन्ने प्रस्ट पार्ने उनको भनाई थियो। उनले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरे। विद्यालयका अभिभावकहरू बाट सधैँ रचनात्मक सल्लाह, सुझावको अपेक्षा रहने बताएका उनले विद्यालय सँग सधैँ नजिक रहन उनीहरूलाई अपिल गरे। आगामी दिनमा अझै नवीन शिक्षण पद्धति विद्यालयले अवलम्बन गर्ने प्रतिबद्धता सहित उनले कार्यक्रम समापन गरे।
कार्यक्रम मार्फत लिटल फ्लावर्स मन्टेश्वरी बाट युकेजी कक्षा उत्तीर्ण गरेका २२ जना बालबालिकाहरू दीक्षित भएका थिए।
तपाईँ यहाँ र यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ।