काठमाडौँ- टोखा- १०, गोङ्गबुमा रहेको बाल संसार पर्फेक्ट मन्टेश्वरी प्रि स्कुलको १४ औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। गत शुक्रवार बिजी बैङ्केटको हलमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले आफ्नो स्थापना दिवस मनाउनुका साथै कक्षा युकेजी उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो।
बाल संसार पर्फेक्ट मन्टेश्वरी प्रि स्कुलकी प्रबन्ध निर्देशक अम्बिका त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयकी प्रधानाध्यापक उर्मिला त्रिपाठीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिइन्। विद्यालयले वर्ष भरि सिकाएका गतिविधि देखाउने अवसरका रूपमा अभिभावक दिवसलाई आफूले लिएको बताएकी उनले अभिभावकहरूको निरन्तरको साथ र सहयोगकै कारण विद्यालयले १४ औँ वर्ष पार गरेको उल्लेख गरिन्। हालको नेपाली समाज, हाम्रो शिक्षण सिकाई प्रक्रिया, अभिभावकहरूको दृष्टिकोण, बाल मनोविज्ञान आदि बारे चर्चा गरेकी उनले विद्यालयका आगामी योजनाहरू समेत अभिभावकलाई सुनाइन्।
कार्यक्रममा विशेष अतिथि अपेन महासचिव बोहराले १४ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै ४४ औँ वार्षिकोत्सव र त्यो भन्दा अझै बढी सफलताको शुभकामना दिए। ४ दिदीबहिनी मिलेर नाम जस्तै पर्फेक्ट मन्टेश्वरी प्रि स्कुल चलाएको आफूले पाएको भन्दै उनले विद्यालयलाई अपेन केन्द्रीय समितिका तर्फबाट बधाई दिए। बोहराले बालबालिकाले मञ्चमा प्रस्तुत गरेका प्रतिभाहरू साँच्चै तारिफयोग्य भएको भन्दै त्यसको तयारीका लागि अथक मेहनत गर्ने सबै शिक्षिका तथा कर्मचारीहरूलाई धन्यवाद दिए।
आफ्ना अभिभावकहरूलाई बिजी बैङ्केट पुर्याएर कार्यक्रम मार्फत आफ्नो गुणस्तरको परिचय दिन विद्यालय सफल भएको छ । कार्यक्रम अवधिभर विद्यार्थीहरूले देखाएको विविध सिर्जनात्मक प्रस्तुतिहरू त्यसको प्रमाण बनेको हो। स- साना बालबालिकाहरूले देखाएको गायन, नृत्य, वक्तृत्व, वाद्यवादन आदि कला कुनै स्थापित कलाकारको जस्तो देखिन्थ्यो । बालबालिकाको अङ्ग्रेजी भाषाको स्तर र समसामयिक विषयको चेतना लोभलाग्दो थियो। अभिभावकहरू आफ्ना बालबालिकाको निपुण प्रस्तुति देखेर उत्साहित देखिन्थे।
कार्यक्रमका प्रमुख अतिथि गौतमले आमन्त्रणका लागि धन्यवाद दिँदै विद्यालयले उत्कृष्ट रूपमा आफूलाई प्रस्तुत गर्दै आएको उल्लेख गरे । स- साना बालबालिकाले दिएको प्रस्तुति आफ्नो अपेक्षा भन्दा निकै माथिल्लो स्तरको भएको भन्दै बाल संसारले सानै देखि बालबालिकालाई व्यवहारिक र सिपमूलक शिक्षाको संसारमा लाँदै छ भन्ने कुराको प्रमाण प्रस्तुतिहरूले दिएको उल्लेख गरे। दीक्षित हुँदै गरेका बालबालिकाहरूको सुन्दर भविष्यका लागि गौतमले शुभकामना पनि दिए। उनले नगरपालिका भित्रका बालबालिकाको हितका लागि सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै आगामी दिनमा पनि सँगै हुने प्रतिबद्धता व्यक्त गरे। गौतमले विद्यालयको अझै धेरै प्रगति होस् भन्ने शुभकामना दिए।
कार्यक्रमकी सभापति त्रिपाठीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिइन्। उनले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरिन्। दीक्षित भएर जाने विद्यार्थीहरूलाई शिक्षा र संस्कारको राम्रो जग बाल संसारले बसालिदिएको हुँदा उनीहरू आगामी दिनमा पक्कै सफल हुनेछन् भन्ने विश्वास सहित उनले कार्यक्रम समापन गरिन्।