Matra Education आइतबार, साउन १० २०८३

उत्कृष्ट प्रस्तुतिहरू प्रदर्शन गर्दै एक्टिभ किड्स गार्डेनको अभिभावक दिवस सम्पन्न

उत्कृष्ट प्रस्तुतिहरू प्रदर्शन गर्दै एक्टिभ किड्स गार्डेनको अभिभावक दिवस सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र ४ २०८०


काठमाडौँ- टोखा-३ स्थित शान्तिबाटिका चोकमा रहेको एक्टिभ किड्स गार्डेनले दोस्रो अभिभावक दिवस सम्पन्न गरेको छ। शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रममा बिच शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको सम्मानमा दिवस मनाइएको हो। साना बालबालिकाहरूको फरक र उत्कृष्ट किसिमका प्रस्तुतिहरू प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको हो।

एक्टिभ किड्स गार्डेन सञ्चालक समितिका अध्यक्ष वासुदेव रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्टेश्वरी तथा प्रि स्कुलहरुको छाता सङ्गठन अपेनका महासचिव कृष्ण कुमार बोहरा प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ सहित नगरका विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरू विशेष अतिथिका रूपमा रहेको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

संस्कार सहितको शिक्षामा विशेष जोड दिँदै आएको एक्टिभ किड्स गार्डेनले कार्यक्रमको समुद्घाटन बालबालिकाहरूलाई संस्कृत मन्त्र वाचन गर्न लगाएर गरेको थियो। आफ्नो धर्म संस्कृति र रीतिरिवाज बारे बालबालिकालाई सानो उमेर बाटै बुझाउनुपर्छ भन्ने उद्देश्य विद्यालयले बोकेको कार्यक्रममा बताइएको थियो।

कार्यक्रममा उपस्थित अभिभावकहरूलाई स्वागत गर्दै विद्यार्थी आरबी अर्यालले अभिभावक दिवसको महत्त्व बारे बताएकी थिइन्। उनले अभिभावकहरूको भूमिकाकै कारण आफूहरूको अस्तित्व रहेको र आजको अवस्थामा आइपुगेको उल्लेख गरिन्।

विद्यार्थीहरूको गायन र नृत्य प्रतिभा मार्फत भरपुर मनोरञ्जन दिँदै अगाडी बढाइएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत एक्टिभ किड्स गार्डेनले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । स- साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य, कविता, वक्तृत्वकला आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक शारदा पाण्डेले विद्यालयले वर्ष भरि सिकाएका गतिविधि देखाउने अवसरका रूपमा अभिभावक दिवसलाई लिएको उल्लेख गरिन्। उनले पढाई सँग सँगै बालबालिकालाई आफ्नो संस्कार/संस्कृति प्रति सचेत र समाज तथा राष्ट्र प्रति जिम्मेवार नागरिक बनाउने लक्ष्य विद्यालयले लिएको बताइन्। आजको शिक्षा अभ्यासमा आधारित हुनुपर्छ भन्ने मान्यता बोकेर विद्यालय अगाडी बढिरहेको हुँदा ‘गरेर सिक्ने’ सिद्धान्त अवलम्बन गरिएको उनको भनाई थियो। अभिभावक, विद्यालय र विद्यार्थी तिनै पक्षको उचित सहकार्य बिना शिक्षण सिकाई हुन नसक्ने हुँदा आफ्ना बालबालिकाको लागि उचित समय दिन उनले अभिभावकहरूलाई आग्रह गरिन्।

अभिभावकहरूको तर्फबाट मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेकी ज्ञानु कार्कीले विद्यालय सँग अभिभावकहरू असन्तुष्ट हुने कुनै ठाउँ नरहेको बताइन्। विद्यालय बाट बाहिरिएका बालबालिकाले नाम चलेका स्कुलहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको भन्दै उनले त्यो नै विद्यालयको असली परिचय भएको उल्लेख गरिन्। बालबालिकाहरूलाई संस्कार र अनुशासन सिकाउने कुरामा एक्टिभ किड्स अग्रस्थानमा आउने उनको भनाई थियो। आफ्नो छोराले आज एउटा नाम चलेको स्कुलमा गएर त्यहाँको समेत इज्जत राखेको बताएकी उनले त्यसको जग बसालेको भन्दै सम्पूर्ण श्रेय एक्टिभ किड्सलाई दिइन्। विद्यालय सँग निरन्तर सम्पर्कमा रहन र ढुक्कले आफ्ना बालबालिका पढाउन उनले आम अभिभावकलाई अपिल गरिन्।

टोखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोलले बालबालिकाको प्रस्तुतिहरूको खुलेर तारिफ गरे। साना बालबालिकाहरूको प्रस्तुतिमा समावेश गरिएको राष्ट्र प्रेम अनुकरणीय भएको उनले उल्लेख गरे। डंगोलले एउटा शिक्षकले धेरै जिम्मेवारीहरू एकैसाथ निभाउन पर्ने हुँदा शिक्षण गाह्रो पेसा भएको धारणा राखे। हजारौँ प्रतिभा लिएर जन्मिएका बालबालिकाहरूको प्रतिभा कस्तुरीको सुगन्ध जस्तै हुने भन्दै उनले त्यसलाई चिनेर विकास गर्ने काम विद्यालयले गरिदिनुपर्ने बताए। आफ्नो वडा भित्रमा विद्यालयहरूलाई दिल खोलेर सहयोग गर्न मन भएको भए पनि कतिपय विद्यमान कानुनहरूका कारण सहयोग गर्न नसकिएको भन्दै उनले दुख व्यक्त गरे। आगामी वर्ष शिक्षक तालिमको व्यवस्था गरेर थोरै सहयोग गर्ने योजना आफूले बनाएको उनले बताए।

विद्यालयलाई शुभकामना दिन मञ्चमा उक्लिएका विशेष अतिथि टोखा नगरपालिकाका उपप्रमुख तामाङले छोटो समयमा गरेको प्रगतिका लागि विद्यालय परिवारलाई बधाई दिए। विद्यालयको अझै बढी प्रगतिको कामना गरेका उनले त्यसका लागि नगरका तर्फबाट गर्नुपर्ने सबै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए। अबको शिक्षा व्यक्तिमा रहेको प्रतिभा पहिचान गरेर त्यसलाई विकास गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेका उनले अभिभावकलाई पढ्नु लेख्नु मात्रै सिकाई हो भनेर नबुझ्न आग्रह गरे।

आफ्ना हरेक कार्यक्रमहरूमा सिर्जनात्मकता र रचनात्मक क्षमता प्रदर्शन गर्दै आएको एक्टिभ किड्स गार्डेनले शनिवार पनि त्यसको उत्कृष्ट प्रदर्शन गरेको थियो। विद्यार्थीले अहिलेको बिदेसिने समस्या र पारिवारिक बेमेल बारे वाचन गरेको कविता, बालबालिकाले आज भोगिरहेको समस्या बारे प्रस्तुत नाटक देखि अन्य प्रस्तुतिहरूले बोकेको समसामयिक भावले मञ्चमा त्यसको प्रतिनिधित्व गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले साना बालबालिकाहरूको प्रस्तुति निकै उत्कृष्ट लागेको प्रतिक्रिया दिए। उनले विद्यालयकी प्रधानाध्यापक पाण्डेले आफैँ खटेर सफल नेतृत्व गरिरहेको र त्यसमा शिक्षक/शिक्षिकाहरूको कुशलता अनि मेहनत मिसिँदा छोटो समयमै विद्यालयले लोभलाग्दो सफलता हात पारेको उल्लेख गरे। मञ्चमा प्रस्तुत भएका केही कविता र नाटकको गहिराई बारे चर्चा गरेका उनले विद्यालयले गरेको मेहनत र दिएको संस्कार बाट आफू प्रभावित भएको बताए। अभिभावकहरूको सल्लाह, सुझाव र साथ, सहयोग बिना कुनै पनि शिक्षण संस्था राम्रो हुन नसक्ने भन्दै विद्यालयले गर्ने हरेक गतिविधिमा सरिक हुन उनले अभिभावकहरूलाई आग्रह गरे। बोहराले अपेन केन्द्रीय कमिटी सधैँ विद्यालयको साथमा रहेको भन्दै आगामी दिनमा अझै धेरै प्रगतिको कामना गरे।

कार्यक्रमका सभापति रेग्मीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। उनले विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनतका कारण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै उनीहरूप्रति आभार व्यक्त गरे। विद्यालयका अभिभावकहरू बाट सधैँ रचनात्मक सल्लाह, सुझावको अपेक्षा रहने बताएका उनले विद्यालय सँग सधैँ नजिक रहन उनीहरूलाई अपिल गरे। रेग्मीले विद्यालयले आउँदा दिनहरूमा रचनात्मक कार्यक्रमहरू अझै गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रम समापन गरे।

कार्यक्रमलाई कुशल कार्यक्रम सञ्चालक शिलु अधिकारीले सञ्चालन गरेकी थिइन्।

तपाईँ यहाँयहाँ क्लिक गरेर कार्यक्रमका तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड