काठमाडौँ- टोखा स्थित लिटिल रोज मन्टेश्वरी स्कुलले अभिभावक दिवस सम्पन्न गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो। एउटा विद्यालयलाई सफल बनाउनका लागि अभिभावकहरूको अहम् भूमिका हुने हुँदा त्यसलाई व्यक्त गर्नका लागि अभिभावकहरू प्रति समर्पित गर्दै दिवस मनाइएको विद्यालय प्रशासनले जनाएको छ।
लिटिल रोज मन्टेश्वरी स्कुलकी प्रधानाध्यापक रेणुका कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका आमन्त्रित प्रधानाध्यापकहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित विद्यालयका शुभचिन्तकहरू रहँदा विद्यालयका शिक्षक/ शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको व्यापक उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै लिटिल रोजका कोअर्डिनेटर नवीन बस्यालले विद्यालय प्रशासनको गुणस्तरीय शिक्षा प्रदान गर्ने संकल्पमा अभिभावकहरूको साथ सहयोग मिल्दा विद्यालय आजको अवस्थामा आइपुगेको बताए। उनले निरन्तर यस्तै सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरे।
उत्कृष्ट स्वागत नृत्य र स्वागत गीत बाट सुरु भएको कार्यक्रममा विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायको प्रतिनिधित्व गर्दै विद्यार्थीहरू मञ्चमा प्रस्तुत भएका थिए । कार्यक्रम अवधिभर प्रस्तुत गरिएका विभिन्न प्रतिभाहरू सहितको प्रस्तुति मार्फत लिटिल रोजले आफूले दिँदै आएको शिक्षाको प्रतिबिम्ब प्रस्तुत गरेको थियो । स- साना बालबालिकाको निर्दोष आवाजमा गायन, नृत्य, कविता, दोहोरी गायन, वक्तृत्वकला आदि प्रस्तुत भइरहँदा विद्यालयका अभिभावकहरू उत्साहित देखिन्थे।
कार्यक्रममा मन्तव्य राख्दै टोखा नगरपालिका वडा नं ८ का अध्यक्ष रमेश खत्रीले सानै देखि बालबालिकालाई आवश्यक शिक्षा दिनमा विद्यालय सफल भएको धारणा राखे। उनले कार्यक्रममा बसेर अवलोकन गर्दै गर्दा आफूले उक्त अनुभूति गरेको बताए। पछिल्लो पुस्तामा बढ्दै गएको विदेश मोह प्रति चिन्ता व्यक्त गरेका उनले अब विद्यालयहरूमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए। अभिभावकहरूलाई मोबाइलको लतबाट बालबालिकालाई टाढै राख्न उनले सुझाव दिए।
अभिभावकहरूका तर्फबाट कार्यक्रमलाई सम्बोधन गरेका विष्णु प्रसाद श्रेष्ठले आफू विगत केही वर्ष अघि देखि निरन्तर विद्यालय सँग नजिक रहेको र शिक्षण सँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको हुँदा विद्यालय उत्कृष्ट पाएको धारणा राखे। उनले उत्कृष्ट प्रस्तुतिका लागि विद्यार्थीहरूलाई धन्यवाद दिँदै थप प्रगतिको कामना गरे।
त्यस्तै टोखा नगरपालिकाका नगर शिक्षा अधिकृत खगेन्द्र सिंह धामीले विद्यालयलाई अभिभावक दिवस सफलताको शुभकामना दिँदै विद्यालयको शिक्षण सिकाई प्रक्रियामा चासो राख्न अभिभावकहरूलाई अनुरोध गरे। उनले अभिभावकको प्रभावकारी भूमिका बिना कुनै पनि विद्यालयको उद्देश्य पुरा हुन नसक्ने बताए। आजका लिटिल रोज जस्ता मन्टेश्वरीले बसाल्ने शिक्षाको जगले भोलिको टोखा र सिंगो देशको जनशक्ति कस्तो हुने भन्ने कुराको निर्धारण हुने उल्लेख गरेका उनले विद्यार्थीलाई प्रमाणपत्र मात्रै दिने भन्दा पनि उनीहरूको रुचि, चाहना र क्षमता अनुसारको शिक्षणमा लगाउनुपर्ने बताए।
आफ्ना हरेक कार्यक्रमहरूमा सिर्जनात्मकता र रचनात्मक क्षमता प्रदर्शन गर्दै आएको लिटिल रोजले आज पनि त्यसको उत्कृष्ट प्रदर्शन गरेको थियो। विद्यार्थीहरूले तयार पारेका विभिन्न अर्थपूर्ण प्रयोगात्मक परियोजनाहरू देखि अन्य प्रस्तुतिहरूले बोकेको समसामयिक भावले मञ्चमा त्यसको प्रतिनिधित्व गरेको थियो। पछिल्लो पुस्ताले चासो नदिएको लोकदोहोरीलाई सन्देशमूलक रूपमा प्रस्तुत गरेर होस् वा अटिजम जस्तो गम्भीर समस्या बारे जनचेतनामूलक नाटक प्रस्तुत गरेर होस्, विद्यालयले उपस्थित सबै दर्शकको मन जित्न सफल भयो।
कार्यक्रमका प्रमुख अतिथि गौतमले आमन्त्रणका लागि धन्यवाद दिँदै विद्यालयले उत्कृष्ट रूपमा आफूलाई प्रस्तुत गर्दै आएको उल्लेख गरे । स- साना बालबालिकाले दिएको प्रस्तुति आफ्नो अपेक्षा भन्दा निकै माथिल्लो स्तरको भएको भन्दै लिटिल रोजले सानै देखि बालबालिकालाई व्यवहारिक र सिपमूलक शिक्षा दिँदैछ भन्ने कुराको प्रमाण प्रस्तुतिहरूले दिएको उनले उल्लेख गरे। अटिजम लगायत विशेष क्षमता भएका विद्यार्थीलाई विद्यालयले खास ध्यान दिएकोमा खुसी व्यक्त गरेका उनले नगरपालिकाले पनि त्यो सम्बन्धी तालिम गर्ने तयारी गरिरहेको बताए। उनले नगरपालिका भित्रका बालबालिकाको हितका लागि सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै आगामी दिनमा पनि सँगै हुने प्रतिबद्धता व्यक्त गरे। गौतमले विद्यालयको अझै धेरै प्रगति होस् भन्ने शुभकामना दिए।
कार्यक्रममा बोल्ने अन्य सबै वक्ताहरूले लिटिल रोजले दिँदै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाको चर्चा गरेका थिए। कार्यक्रममा विभिन्न शैक्षिक गतिविधिहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो।
कार्यक्रम समापन गर्दै लिटिल रोजकी प्रधानाध्यापक कोइरालाले उपस्थित अतिथिलाई धन्यवाद दिइन् । उनले सबैको साथ, सहयोगका कारण विद्यालय आफ्नो क्षेत्रमा स्थापित हुन सफल भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आफूहरूको बाचा जस्तोसुकै परिस्थितिमा पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
तपाईँ यहाँ र यहाँ क्लिक गरेर मात्र एजुकेसनले कार्यक्रम अवधिभर खिचेका थप तस्बिरहरू हेर्न सक्नुहुन्छ।