काठमाडौँ- युनाइटेड एकेडेमी कुमारीपाटी ललितपुरले ‘रोबो फेस्ट २.०’ सम्पन्न गरेको छ। गत फागुन २१ गते एकेडेमीको खेल मैदानमा बृहत् प्रदर्शनी आयोजना गर्दै कार्यक्रम सम्पन्न गरिएको हो। एकेडेमी भित्र अध्ययनरत विद्यार्थीहरूको रोबोटिक्समा रुचि अभिवृद्धि गर्ने र त्यस क्षेत्रमा उनीहरूले हासिल गरेको दक्षता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने भन्दै ‘रोबो फेस्ट’ आयोजना गरिएको थियो। यो पटकको ‘रोबो फेस्ट’ को थिम ‘रकेट’ रहेको थियो।
‘रोबो फेस्ट २.०’ मा युनाइटेड एकेडेमीका विद्यार्थीहरूले निर्माण गरेको २२ वटा रोबर्ट तथा रकेट सँग सम्बन्धित विभिन्न परियोजनाहरू प्रदर्शनमा राखिएको थियो। त्यस्तै उपत्यकाका विभिन्न शैक्षिक संस्थाहरूले खुला प्रतिस्पर्धा गर्न पाउने गरी दुई वटा रोबोटिक्स प्रतियोगिता पनि कार्यक्रमका लागि राखिएको थियो। ‘रोबो सकर’ र ‘रोबो रेस’ मा ती विद्यालयहरूले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रममा युनाइटेड एकेडेमीका एल्मुनाई सन् २०१६ ब्याचका उज्ज्वल ढकालले नेपालको अन्तरिक्ष यात्राको सपनालाई समेटेर बनाएको रकेट विशेष आकर्षणका रूपमा रहेको थियो। उक्त नमुना रकेटले आगन्तुकहरूको ध्यान आफूतिर खिच्न सफल रहनुका साथै उनीहरूको प्रशंसा समेत बटुल्न सफल भएको थियो। यसैगरी युनाइटेड एकेडेमीका विद्यार्थीहरूले कार्यक्रममा आफ्ना नवीन परियोजनाहरू प्रदर्शन गरेर दर्शकहरूलाई चकित पारेका थिए । स्मार्ट बेबी वाकर, असामान्य गतिविधिहरू बारे सचेत गराउने रोबोट, ग्यास चुहावट र आगो पत्ता लगाउने प्रणाली र होम अटोमेसन च्याटबक्स जस्ता व्यावहारिक समाधानहरू देखि लिएर ‘भ्वाइस-कन्ट्रोल्ड रोबोट’ र विभिन्न भविष्यका रोबर्ट सँग सम्बन्धित अवधारणाहरू समेटिएका परियोजनाहरूले विद्यार्थीहरूको असाधारण रचनात्मकता र प्राविधिक विशेषज्ञताको परिचय दिएको थियो। त्यस्तै ‘वेलकमिङ रोबोट’, ‘थ्रिडी प्रिन्टर’, ‘थम्ब कन्ट्रोलिङ ह्वील चेयर’ र रकेट मोडल पनि प्रदर्शनीको आकर्षण थिए।
सहभागीहरूलाई युनाइटेड एकेडेमीमा ‘होटेल म्यानेजमेन्ट’ अध्ययनरत विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न खानाका परिकारहरूको समेत स्वाद चखाइएको थियो। विद्यार्थीहरूले राखेका फुड स्टलहरूमा परम्परागत नेवारी परिकार देखि फास्ट फुडका विभिन्न विकल्पहरू राखिएको थियो। मांसाहारी र शाकाहारी दुवै किसिमका ग्राहकको रुचि र आवश्यकता अनुसारका परिकारहरू विद्यार्थीहरूले आकर्षक रूपमा बनाएर वितरण गरेका थिए।
निकै रोचक र प्रतिस्पर्धात्मक बनेको रोबो सकर तथा रोबो रेसका प्रतियोगीताहरुमा तिन/तिन टोलीले विजय हासिल गर्न सफल रहे। रोबो सकरमा ‘टिम डिस्ट्रक्टर’ ले प्रथम स्थान हासिल गर्न सफल हुँदै मेडल र प्रमाणपत्र सहित रु २५,००० नगद पुरस्कार प्राप्त गर्यो। त्यस्तै दोस्रो भएको ‘टिम फायर फ्लाइज’ ले मेडल र प्रमाणपत्र सहित रु १५,००० नगद पुरस्कार प्राप्त गर्दा तेस्रो स्थानको ‘टिम बिजोक विजय’ ले मेडल र प्रमाणपत्र सहित रु १०,००० नगद पुरस्कार प्राप्त गर्यो।
त्यस्तै रोबो रेसमा प्रथम हुन सफल केएमसी स्कुलले मेडल र प्रमाणपत्र सहित नगद रु १२,५०० पुरस्कार प्राप्त गर्यो। यो प्रतियोगितामा द्वितीय हुने ‘टिम डिस्ट्रक्टर’ ले मेडल, प्रमाणपत्र र ७,५०० नगद पुरस्कार तथा तृतीय हुने ‘टिम स्पाइडर’ ले मेडल, प्रमाणपत्र र ५,००० नगद पुरस्कार आफ्नो नाममा गर्न सफल भए।
आयोजकका रूपमा एकेडेमीले यो कार्यक्रमको दोस्रो संस्करण आयोजना गरेको हो। सन् २०१७ देखि निरन्तर यस किसिमका प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको युनाइटेड एकेडेमी आफैँले तिन वटा प्रतिष्ठित अवार्डहरू हात पारिसकेको छ। यन्त्र ६.०, यन्त्र ७.० र आक्वाबोटको अवार्ड एकेडेमीले आफ्नो नाममा गरिसकेको छ।
