काठमाडौँ- शिक्षालय नेपालको आयोजनामा प्रोगेसिभ एजुकेसन नेपाल अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । आइतबार आयोजना गरिएको कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष दीपिका थापा र अर्लि चाइल्डहुड एजुकेसनका संस्थापक राईनी डि वीटको प्रस्तुति रहेको थियो । प्रोगेसिभ एजुकेसनको बारेमा समृद्धि स्कुलका प्रिन्सिपल अमित विक्रम सिजापति, हिसानका उपाध्यक्ष रामहरि सिलवाल र एनप्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले आफ्नो विचार राखेका थिए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले आजको अत्याधुनिक समयमा समय सापेक्ष शिक्षा प्रदान गरिनुपर्ने, शिक्षण विधि सँगसँगै प्रविधिलाई आत्मसात् गरी समूह बनाएर विद्यार्थीलाई प्रयोगात्मक रूपमा अभ्यास गराउनुपर्ने, कक्षाकोठाको वातावरण बालमैत्री हुनुपर्ने, बालबालिकालाई कक्षाकोठामा यु तथा भि सेपमा राख्नुपर्ने, विद्यालयको भौतिक पूर्वाधार आकर्षक हुनुपर्ने, शिक्षक कर्मचारीलाई दिने सेवा राम्रो हुनुपर्ने, तालिमयुक्त शिक्षकले मात्रै अध्यापन गराउनुपर्ने लगायतका विषयमा जोड दिएका थिए।
कार्यक्रमलाई सफल बनाउनको लागि आलिसान फर्निचरको प्रायोजन तथा वेदान्त पब्लिकेसन, रिडमोर र टाइम्स पब्लिकेसनको सहकार्य रहेको थियो ।