काठमाडौँ- रिलायन्स इन्टरनेसनल एकेडेमीको २१ औँ वार्षिक अभिभावक दिवस सम्पन्न भएको छ । शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले शिक्षण सिकाइमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकहरूको सम्मानमा दिवस सम्पन्न गरेको हो।
रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका रूपमा पूर्वीय दर्शनका ज्ञाता संस्कृतिविद् तथा आध्यात्मिक चिन्तक डा. चिन्तामणि योगी प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित सामाजिक तथा शैक्षिक व्यक्तित्वहरू, स्थानीय महिला समूहका प्रतिनिधि एवं विभिन्न शैक्षिक संस्थाका प्रधानाध्यापकहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा रिलायन्सका विद्यार्थी तथा अभिभावकहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक खेमलाल भुसालले विद्यालयको सफलता र भावि योजनाबारे प्रस्ट पारेका थिए। कार्यक्रममा विद्यार्थीहरूले ४० भन्दा बढी सांस्कृतिक कार्यक्रम, नाटक र योगका प्रस्तुति मार्फत अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. योगीले सनातन संस्कृतिलाई कहिल्यै बिर्सन नहुने र बालबालिकालाई पनि सनातन संस्कृतिबारे शिक्षा दिनु पर्ने धारणा राखे। उनले संस्कारयुक्त शिक्षा प्राप्त गरेका बालबालिका संसारकै असल नागरिक बन्न सक्ने तर्क गर्दै रिलायन्सको औपचारिक कार्यक्रमको सुरुवात ध्यानबाट गर्ने प्रक्रियाबाट प्रभावित भएको बताए ।
कार्यक्रमका सभापति तथा रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष थापाले विद्यार्थीको आन्तरिक प्रतिभाको प्रस्फुटन गराउन विद्यालयले यस्ता कार्यक्रमहरू आयोजना गर्नु अनुकरणीय र प्रशंसनीय भएको उल्लेख गर्दै संस्कारयुक्त आधुनिक शिक्षा दिन रिलायन्स इन्टरनेसनल एकेडेमी अगाडि बढेकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि एवम् विशेष अतिथिहरूलाई विद्यालयका प्रिन्सिपल खेमलाल भुसाल र कार्यक्रमका सभापति थापाले मायाको चिनो हस्तान्तरण गरेका थिए ।