Matra Education आइतबार, साउन १० २०८३

फटकशिला माविको ६४ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

फटकशिला माविको ६४ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

  • रमेश लामिछाने
  • बिहिबार, फाल्गुन १७ २०८०


काठमाडौँ- मेलम्ची नगरपालिका-१३ फटकशिला स्थित श्री फटकशिला माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। बुधवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले स्थापना दिवस मनाएको हो। उक्त अवसरमा विद्यालय बाट एसएलसी/ एसइई उत्तीर्ण गरेका २०५४ साल देखीका विद्यार्थीहरूको पुनर्मिलन भेला राखी पूर्व विद्यार्थी समाज समेत गठन गरिएको थियो।

श्री फटकशिला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि र नगर उपप्रमुख उमा प्रधान विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा १३ नं वडाका अध्यक्ष श्रीराम घोरासैनी सहित जनप्रतिनिधिहरू तथा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो। कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू सरोज लामिछाने र राजेश ढकालले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा शिक्षक ईश्वर कुमार चौलागाईंले विद्यालयको ऐतिहासिक पृष्ठभूमि बारे मन्तव्य राखेका थिए भने प्रधानाध्यापक हरि प्रसाद पौड्यालले वार्षिक प्रगति प्रतिवेदन र लेखापाल उमा दंगालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित अतिथिहरूले विद्यालयले शिक्षाको क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा विद्यालयको अझै बढी प्रगतिका लागि शुभकामना दिए।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका विविध प्रतिभाले भरपुर विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन गराइएको थियो भने अधिकृत स्तरको योग्यता हासिल गरेका/ कार्यरत रहेका ६ जना पूर्व विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यस्तै विभिन्न एसएलसी ब्याच मार्फत वा व्यक्तिगत रूपमा विद्यालयको अक्षय कोषमा योगदान गर्ने, विभिन्न सामग्रीहरू सहयोग गर्ने र विद्यालयलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि प्रधानले नगर भित्रको शैक्षिक विकासका लागि नगरले कुनै कसर बाँकी नराख्ने बताइन्। नगरभित्रका सामुदायिक विद्यालयलाई गौरव गर्न लायकको बनाउन आफूहरू प्रयासरत रहेको उनको भनाई थियो। प्रधानले गुणस्तरीय शिक्षा प्रदान भएको सुनिश्चित गर्न विद्यालयलाई अनुरोध गरिन्। शिक्षाको विकास बिना राष्ट्रको विकास हुन नसक्ने हुँदा सबै मिलेर आ-आफ्नो ठाउँ बाट शिक्षाको विकासको लागि सकेको योगदान गर्नुपर्ने उनको धारणा थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले विद्यालयलाई सफलताको ६४ वर्ष पार गरेकोमा बधाई तथा शुभकामना दिए। नगर भित्रको शैक्षिक विकासका लागि पालिकाले गरिरहेको प्रयासको चर्चा गरेका उनले फटकशिला माविलाई अब्बल दर्जाको विद्यालय बनाउनका लागि सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको उल्लेख गरे। आफूले विद्यालयलाई नजिक बाट नियालिरहेको र समस्याहरू देखाउँदै विद्यालय व्यवस्थापन समितिले सहयोग मागेको बखत यथाशक्य सहजीकरण गरिदिएको उनले स्मरण गरे। तामाङले विद्यालयले आगामी दिनमा अझै धेरै प्रगति गरोस् भन्ने शुभकामना दिए।

औपचारिक कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति दंगालले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए। उक्त विद्यालयका पूर्व विद्यार्थी समेत रहेका उनले आफ्नै पहलमा पूर्व विद्यार्थी समाज गठनको पहल थालेको भन्दै अब सबै पूर्व विद्यार्थीहरू मिलेर विद्यालयको उन्नयनमा सहकार्य गर्नुपर्ने धारणा राखे। आफू विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा आएदेखि गरेका सुधारका कामहरू बारे चर्चा गरेका उनले आवश्यक पर्दा साथ सहयोग दिने सबैप्रति आभार व्यक्त गरे। अब पूर्व विद्यार्थी समाज मार्फत सबै लागेर विद्यालयलाई अझै राम्रो बनाउन अपिल गर्दै उनले कार्यक्रम अन्त्य भएको घोषणा गरे ।

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक छविलाल नेपालले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड