काठमाडौँ- कुमारीपाटी, ललितपुर स्थित युनाइटेड कलेजले वार्षिक पत्रिका ‘लुमिनरी’ को विमोचन गरेको छ। आइतबार बिहान कलेजको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच ‘लुमिनरी’ को पहिलो संस्करणको विमोचन गरिएको हो।
युनाइटेड कलेजका संस्थापक अध्यक्ष ड्रिप चाम्लिङ, संस्थापक निर्देशक नरहाङ राई, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्य, त्रिविका प्राध्यापक बाबुराम तिम्सिना र युनाइटेड कलेजका प्रधानाध्यापक डा लाल रापचाले संयुक्त रूपमा ‘लुमिनरी’ को विमोचन गरेका हुन्। कार्यक्रममा आइडिया स्टुडियो नेपालका संस्थापक डा छिरिङ लामा सहित अन्य आमन्त्रित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने कलेजमा अध्ययनरत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन २० वर्ष अघि युनाइटेड कलेज बाट आफ्नो अध्ययन पुरा गरेकी कलेज एल्मुनाई सोफिया महर्जनले गरेकी थिइन्। उनको कुशल कार्यक्रम सञ्चालन क्षमता र दक्षता मार्फत कलेजले आफूले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको परिचय दिएको थियो। महर्जनले विमोचन हुँदै गरेको वार्षिक पत्रिकाले विद्यार्थीहरूले लेखेको लेख र रचना मात्रै प्रकाशित गरेको नभई विभिन्न अनुसन्धानहरू समेटेको, उपलब्धिहरू देखाएको र कलेजले गरेका विभिन्न गतिविधिहरूको उपयुक्त सङ्ग्रह तयार पारेको जानकारी दिइन्।
विमोचित कृति माथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बाबुराम तिम्सिनाले युनाइटेड कलेजले ऐतिहासिक काम गरेको बताए। आफूले पत्रिकामा समावेश गरिएका सबै जसो रचनाहरू पढेको उल्लेख गरेका उनले ‘लुमिनरी’ नाम आफैँमा महत्त्वपूर्ण भएको र यसले उपयुक्त सन्देश दिएको बताए। सुरुवात देखि नै युनाइटेडले शिक्षामा गरेको योगदानको प्रतिनिधित्व पत्रिकाले गरेको बताएका उनले स्केच भएको कभरले सिर्जनात्मक क्षमता प्रस्तुत गरेको धारणा राखे। पूरा पुस्तक माथि टिप्पणी गरेका तिम्सिनाले छनोट भएर प्रकाशित भएका रचनाहरू जुन पढ्यो त्यही राम्रो भएको भनाई राखे। विमोचित पत्रिका आकृति र रूपमा मात्रै होइन सारमा पनि गौरव गर्न लायक भएको उल्लेख गरेका उनले अझै राम्रो बनाउनका लागि केही रचनात्मक सुझावहरू समेत दिए।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी डिन शाक्यले बिहानै यति सुन्दर पत्रिका विमोचन गर्न पाएकाले दिनको सुरुवात राम्रो भएको धारणा राखिन्। शैक्षिक क्षेत्रमा लागेका व्यक्तिहरूको चिनारी नै आफूले प्रकाशित गरेका कृतिहरू हुने हुँदा कलेजको जीवनमा यो अत्यन्तै महत्त्वपूर्ण दिन भएको उनले बताइन्। कृति निकाल्नु बाहिर बाट देखे जस्तो सजिलो नहुने भन्दै उनले प्रकाशनका लागि खट्ने सबैको मुक्तकण्ठले प्रशंसा गरिन्। २१ वर्षे इतिहासमा कलेजले पहिलो पटक निकालेको पत्रिका आफूलाई विमोचन गर्न दिएकोमा उनले आभार प्रकट गरिन् । समग्र कलेजकै प्रतिनिधित्व गर्ने यस्तो कृतिलाई विश्वविद्यालय अनुसन्धान आयोगको गुणस्तर सुनिश्चितता प्रणाली (क्युएए) मा आबद्ध गराउन उनले सुझाव दिइन्। उनले पहिलो संस्करण प्रकाशित भएको पत्रिका कहिल्यै नरोकियोस् र निरन्तर प्रकाशित भइरहोस् भन्ने कामना पनि गरिन्।
युनाइटेड कलेजका प्रधानाध्यापक डा. रापचाले ‘लुमिनरी’ भनेको सम्झना भएको हुँदा यो पत्रिकाले सबैलाई युनाइटेड कलेजको सम्झना गराउने धारणा राखे। उनले अब हरेक वर्ष यसको नयाँ संस्करण प्रकाशित हुने प्रतिबद्धता जनाए। त्यस्तै असार १८ गते वार्षिकोत्सवका अवसरमा कलेजको जर्नल प्रकाशित हुन लागेको जानकारी गराउँदै त्यसमा पनि उत्तिकै मेहनत गर्न रापचाले सम्बन्धित सबैलाई आग्रह गरे। उनले उपस्थितिका लागि सबै अतिथिलाई आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरे।

कार्यक्रमका थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।