Matra Education आइतबार, साउन १० २०८३

‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो’ समापन, उत्कृष्ट ४ विद्यालय पुरस्कृत

‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो’ समापन, उत्कृष्ट ४ विद्यालय पुरस्कृत

  • मात्र एजुकेशन
  • शनिबार, माघ २७ २०८०


काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स स्कुलले आयोजनामा गरेको २ दिने ‘सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो’ सम्पन्न भएको छ। बिहीबार देखि विद्यालय परिसरमा सुरु भएको कार्यक्रमको शुक्रवार एक औपचारिक कार्यक्रम गर्दै समापन गरिएको हो। विज्ञान तथा आइटिले अबको विश्वमा नयाँ नयाँ अवसरहरूको सिर्जना गर्ने हुँदा यी क्षेत्र प्रति विद्यार्थीहरूको रुचि जगाई त्यसमा भविष्य खोज्न उनीहरूलाई प्रोत्साहन गर्नका संस्थाले सो कार्यक्रम आयोजना गरेको थियो।

कुल २० विद्यालय सहभागी रहेको उक्त एक्स्पोमा प्रत्येक विद्यालयले फरक फरक किसिमका विज्ञान तथा आइटी सँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरेका थिए। उक्त परियोजनाहरू मध्ये बाट निर्णायकले छानेका उत्कृष्ट तिन परियोजनाहरू पुरस्कृत भएका छन्। त्यस्तै परियोजनाका अवलोकनकर्ताहरूको मतका आधारमा एउटा परियोजनाले ‘भिजिटर्स च्वाइस अवार्ड’ प्राप्त गरेको छ।

शुक्रवार नै घोषणा गरिएको नतिजा अनुसार रिपुमर्दिनी सैनिक महाविद्यालयले आफूलाई सर्वोत्कृष्ट साबित गर्दै प्रथम पुरस्कार हात पार्न सफल भयो। उक्त विद्यालयले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५,००० प्राप्त गर्न सफल भयो। त्यस्तै द्वितीय हुन सफल मिसन पब्लिक स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु १०,००० प्राप्त गर्‍यो भने तृतीय स्थान हासिल गरेको अनमोल ज्योति सेकेन्डरी स्कुलले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५,००० पुरस्कार प्राप्त गर्‍यो। अवालोकनकर्ताहरुले डिजिटल तरिका बाट प्रदान गरेको मत मध्ये सर्वाधिक मत प्राप्त गर्दै आयोजक सेन्ट लरेन्स सेकेन्डरी स्कुलले ‘भिजिटर्स च्वाइस अवार्ड’ प्राप्त गर्‍यो। यी सबै विधाका विजेताहरूलाई आयोजक संस्थाका अध्यक्ष केशव प्रसाद दंगाल, प्रधानाध्यापक पुरुषोत्तम महर्जन, निर्देशक ताराप्रसाद सुवेदी तथा समापन कार्यक्रमका प्रमुख अतिथि का.म.न.पा ७ न वडाका अध्यक्ष विमल कुमार होडा लगायतले पुरस्कृत गरे।

कार्यक्रम समापन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै सेन्ट लरेन्स स्कुल/कलेजका अध्यक्ष केशव प्रसाद दंगालले सेन्ट लरेन्सले विज्ञान तथा आइटिका क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर आफूहरूले दिएको बताए। उनले नास्ट जस्तो संस्थाका पदाधिकारी समेतले विद्यार्थीहरूले तयार गरेका परियोजनाहरू अवलोकन गरेर प्रोत्साहन गरेको भन्दै कार्यक्रम सिक्ने र सिकाउने एउटा अवसरका रूपमा परिणत भएको उल्लेख गरे। दंगालले कार्यक्रममा उत्साहजनक सहभागिता जनाउने विद्यालय तथा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड