काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल सेकेण्डरी स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ। शुक्रवार राष्ट्रिय नाच घर जमलको हलमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले शिक्षण सिकाइमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिभावकको सम्मानमा दिवस सम्पन्न गरेको हो।
टेक्सास एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमीक्स प्रा. डा. गोविन्द प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइराला रहेका थिए। त्यस्तै विशेष अतिथिका रूपमा चर्चित सञ्चारकर्मी टिकाराम यात्री उपस्थित रहेको कार्यक्रम टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क बाट संरक्षक प्रा. डा. केशव कुमार श्रेष्ठ, अध्यक्ष भेष राज पोखरेल, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठको समुपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहँदा टेक्सास स्कुलका अभिभावक तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै टेक्सासका स्कुल संयोजक लेखराज घिमिरेले टेक्सास आफ्नो क्षेत्रमा आज सर्वाधिक लोकप्रिय रहेको उल्लेख गरे । अभिभावक दिवस बालबालिकाहरूले वर्ष भरी अध्ययन बाहेक विद्यालयमा सिकेका कुराहरू देखाउने अवसर भएको भन्दै उनले शिक्षण सिकाई अभिभावक, विद्यालय तथा विद्यार्थीहरूको त्रिपक्षीय संयोजन बाट मात्रै सम्भव हुने उल्लेख गरे। घिमिरेले २१ औ शताब्दीको प्रतिस्पर्धात्मक विश्वमा अब्बल साबित हुनसक्ने जनशक्ति टेक्सासले उत्पादन गर्ने भनाई राखे।
संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको टेक्सासले आफ्नो कार्यक्रमको सुरुवात स्वस्ति वाचन, गणेश वन्दना तथा सरस्वती वन्दना बाट गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सास एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले अभिभावक दिवस विद्यालयका लागि आफ्ना अभिभावकहरू सँग बस्ने, छलफल गर्ने, सल्लाह सुझाव लिने र आगामी वर्षका लागि महत्त्वपूर्ण योजना बनाउने अवसर भएको उल्लेख गरे। उनले विद्यार्थीलाई सफल सँगै असल बनाउने र टेक्सासको नारा जस्तै उनीहरूलाई पूर्ण मानव बनाउने प्रयासमा कार्यक्रमले थप पृष्ठपोषण प्रदान गर्ने बताए। संस्थाले हरेक वर्ष अग्रगामी कदम लिँदै आएको भन्दै उनले विगतका वर्षहरूभन्दा यो वर्ष राम्रा सेवा सुविधा र प्रगतिशील शैक्षिक पद्धति लिन विद्यालय सफल भएको उल्लेख गरे। विगतका वर्षहरूमा जस्तै अभिभावकहरूको निरन्तरको साथ सहयोगले टेक्सास अझै धेरै सफल हुने विश्वास उनले व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन अथक मेहनत गर्ने शिक्षक शिक्षिका सहित सबैलाई धन्यवाद दिए।
कार्यक्रमलाई शुभकामना दिन पुगेका टेक्सास एजुकेसन नेटवर्क अन्तर्गतका अन्य विभिन्न वक्ताहरूले विद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि खेलिरहेको भूमिकाको चर्चा गर्दै आगामी दिनका लागि थप प्रगतिको शुभकामना दिए।
कार्यक्रमका विशेष अतिथि यात्रीले अघिल्लो वर्ष १२ कक्षा उत्तीर्ण मध्य ५०% ले एनओसि लिएको तथ्याङ्क प्रस्तुत गर्दै यहाँ भविष्य छैन भन्ने टिठलाग्दो अवस्था सिर्जना गरिएको बताए । तर बजारमा देखाइए जस्तो निराश हुनुपर्ने अवस्था नेपालमा नरहेको उनको भनाई थियो। विश्वका विभिन्न भाग घुमेको आफ्नो अनुभव सुनाउँदै यात्रीले नेपालको जस्तो सामाजिक सहिष्णुता र एकता कहीँ नभएको उल्लेख गरे। चिन र भारतमा गैर आवासीय नागरिकहरूले ठुलो लगानी गरेको हुँदा त्यसको लाभ पनि नेपालले लिन सक्ने यात्रीको ठहर थियो। उनले आजका विद्यार्थीले के पढ्ने, के गर्ने भन्ने कुराको निर्णय आफ्नै रुचिमा आधारित भएर लिनुपर्ने भन्दै छोराछोरीलाई आफ्नो सपनाको भारी नबोकाउन अभिभावकहरूलाई अनुरोध गरे। विद्यार्थीले बिकाउ भन्दा टिकाउ र टिकाउ भन्दा सिकाउ कुरामा ध्यान दिनुपर्ने उनको सुझाव थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा कोइरालाले अभिभावक दिवसका लागि विद्यालयलाई बधाई र अतिथिका रूपमा आमन्त्रणका लागि धन्यवाद दिए ।उनले अभिभावक दिवस बालबालिकाको आत्मविश्वास वृद्धि गर्ने अवसर हुने भन्दै यस्ता कार्यक्रमहरूमा आउँदा आफूलाई उत्साहको सञ्चार हुने गरेको बताए। शिक्षा सफल हुनका लागि शिक्षक/शिक्षिका र अभिभावकहरूको भूमिकाको चर्चा गरेका उनले आजको शिक्षा ज्ञान बाँड्नेमा मात्र केन्द्रित हुनु नहुने बरु नयाँ कुरा कसरी खोज्ने, ‘आउट अफ द बक्स’ कसरी सोच्ने भन्नेमा केन्द्रित हुनुपर्ने उल्लेख गरे। आजका अभिभावकको ध्यान आफ्ना छोराछोरीलाई एउटा असल व्यक्ति कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने भन्दै उनले आज प्रथम नभएको बालबालिकाले भोलि संसार जित्न सक्छ भन्ने कुरा बुझ्नुपर्ने बताए। विद्यार्थी जीवनमा आफू पनि सधैँ औसत विद्यार्थी मात्रै रहेको स्मरण गर्दै कोइरालाले आधारभूत मानवीय गुण छ भने व्यक्ति अवश्य सफल हुन्छ भनेर विश्वास लिनुपर्ने बताए। विद्यार्थीलाई प्रश्न सोध्न, जिज्ञासा राख्न सक्ने बनाउन उनले विद्यालयलाई सुझाव दिए भने सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना पनि गरे।
औपचारिक सत्र समापन गर्दै कार्यक्रमका सभापति आचार्यले शैक्षिक क्षेत्रमा टेक्सासले जे गरिरहेको छ त्यो मुल्यांकन गर्ने दिन अभिभावक दिवस भएको उल्लेख गरे। उनले शिक्षण संस्थाको उद्देश्य परिपूर्तिका लागि अभिभावक, विद्यालय र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध सुमधुर हुनुपर्ने धारणा राख्दै अभिभावकको सल्लाह, सुझाव र पृष्ठपोषणकै कारण विद्यार्थीको भविष्य सफल बनाउन सकिने बताए। उनले शिक्षण संस्थाको एकल प्रयासले मात्रै शिक्षाको लक्ष्य पुरा हुन नसक्ने भन्दै अभिभावकका कुरा सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने योजना बनाउने अवसर पनि कार्यक्रमले प्रदान गरेको बताए। अभिभावकले बालबालिकालाई जति व्यस्त भए पनि समय दिनुपर्ने उल्लेख गरेका उनले बालबालिकाहरूलाई आफ्नो निर्णय लाद्ने काम गर्न नहुने बताए। आफ्ना छोराछोरीलाई उनीहरूको अन्तर्निहित प्रतिभा र उसको चाहना बुझेर त्यही अनुसार अघि बढ्न दिए मात्र अभिभावक पनि सफल हुन सक्ने उनको भनाई थियो। अभिभावकहरूमा जीवनमा आफूले प्राप्त गर्न नसकेको चिज बालबालिकाले गर्न सकोस् भन्ने चाहना हुने भन्दै उनले त्यसो गर्दा बालबालिकाको आफ्नो क्षमता मर्ने धारणा राखे। कुनै पनि मानिस सफल हुनका लागि संस्कृति, संस्कार र सिपको ज्ञान महत्त्वपूर्ण हुन्छ भन्ने बुझेर त्यसलाई मनन गर्न उपस्थित अभिभावकलाई आग्रह गर्दै उनले औपचारिक कार्यक्रमको अन्त्य गरे।
टेक्सास स्कुलका स्कुल इन्चार्ज राजु पौडेलले औपचारिक सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने अनौपचारिक सत्रका विभिन्न प्रस्तुतिहरूको उद्घोषण विद्यालयका बालबालिकाहरूले गरेका थिए।
कार्यक्रममा विद्यालयले शिक्षक शिक्षिकाले खेलेको भूमिकाको कदर गर्दै उनीहरूलाई सम्मान गरेको थियो। त्यस्तै अनौपचारिक सत्रमा टेक्सासका विद्यार्थीका प्रतिभाले भरपुर विभिन्न प्रस्तुतिहरू देखाइएको थियो। आफ्ना छोराछोरीको सुन्दर प्रस्तुतिहरू हेरेर विद्यालयका अभिभावकहरू प्रफुल्लित देखिन्थे।
कार्यक्रममा थप तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।