काठमाडौँ- चाबहिल स्थित टेक्सास कलेजको टेक्सास साइन्स एन्ड आइटी एक्स्पो २०८० सुरु भएको छ । तिन दिन सम्म चल्ने उक्त प्रदर्शनीको सोमबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
टेक्सास कलेजका चिफ अफ एकेडेमीक्स प्रा. डा. गोविन्द प्रसाद आचार्यको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा ७ का अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा विशेष अतिथिका रूपमा क्यान महासंघका अध्यक्ष रञ्जित पोडार, नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकाल, क्यानका महासचिव चिरञ्जीवी अधिकारी, काठमाडौँ विश्वविद्यालयका प्रा डा सुधन झा आदि उपस्थित थिए । त्यस्तै टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेष राज पोखरेल, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ सहित कलेजका विभिन्न तहमा कार्यरत शिक्षक कर्मचारीहरू, विद्यार्थीहरू तथा टेक्सास परिवारका अलावा विभिन्न आमन्त्रित विद्यालय बाट शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विज्ञान, आइटी तथा रोबोटिक्स सम्बन्धी ६० भन्दा धेरै स्टलहरू राखिएका छन् ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल स्कुल/ कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सास प्रयोगात्मक शिक्षामा विश्वास गर्छ भन्ने एउटा उदाहरण कार्यक्रम भएको उल्लेख गरे। उनले प्रदर्शनीमा राखिएका स्टलहरूले कलेजले दिने शिक्षाको प्रतिनिधित्व गरेको बताए।
त्यस्तै टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेस राज पोखरेलले प्रदर्शनी सफल बनाउन अहोरात्र खट्ने सबैलाई धन्यवाद दिए । आजका विद्यार्थी सफल हुनका लागि विज्ञान तथा आइटीमा जानकार हुनुपर्ने भन्दै उनले त्यसैले व्यक्तिको सफलताको बाटो तय गर्ने उल्लेख गरे । कलेजले डिग्री सँगै सिप प्रदान गर्ने गरेको र त्यसको प्रतिबिम्ब प्रदर्शनीमा देखिने उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै क्यान महासंघका अध्यक्ष रञ्जित पोडारले यस किसिमका एक्स्पोहरु क्यान महासंघले नै सुरु गरेको स्मरण गर्दै क्याम्पस तहमा समेत यी कार्यक्रमहरू हुनु सुखद भएको उल्लेख गरे। आगामी माघ २५-२९ गते सम्म भृकुटीमण्डपमा यो वर्षको क्यान एक्स्पो सुरु हुन लागेको भन्दै उनले विद्यार्थीले टेक्सास कलेजको एक्स्पोमा प्रदर्शन गरेका उत्कृष्ट प्रोजेक्टहरू त्यहाँ पनि ल्याइदिन कलेज समक्ष आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि होडाले टेक्सासले हरेक वर्ष गर्दै आएको एक्स्पो यो वर्ष पनि सञ्चालन गर्न लागेकोमा बधाई तथा सफलताको शुभकामना दिए। उनले यस्ता प्रदर्शनीहरूले विश्व चर्चित जनशक्ति उत्पादन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे। विद्यार्थीहरूलाई सिपमूलक शिक्षा दिन सक्ने नेपालमै गरिखाने वातावरण बनाउन सकिने र कोही बिदेसिनु नपर्ने भन्दै उनले त्यसो गर्न सके मात्र अभिभावकको लगानीको सही सदुपयोग हुन सक्ने धारणा राखे। महानगर र आफ्नो वडा ले शैक्षिक विकासका लागि गरेका प्रयासहरूको समेत चर्चा गरेका उनले सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए।
टेक्सास कलेजका चिफ अफ एकेडेमीक्स तथा कार्यक्रमका सभापति प्रा. डा. गोविन्द प्रसाद आचार्यले यस्ता प्रदर्शनीको आफ्नै महत्त्व रहेको धारणा राखे । आजको दुनियाँमा प्रयोगात्मक ज्ञान नभए सिद्धान्त मात्रै सिकेर केही नहुने उल्लेख गरेका उनले विद्यार्थीको भविष्य निर्माणका लागि कार्यक्रम आयोजना भएको भन्दै सबैलाई शुभकामना दिए ।
२५० भन्दा धेरै विद्यार्थीहरूले कार्यक्रम अवधिभर आफ्नो प्रोजेक्ट प्रदर्शन गर्ने आयोजकको भनाइ छ। प्रदर्शनी आगामी २४ गते बेलुकी ४ बजेसम्म चल्नेछ। कार्यक्रमका तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।