काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले ‘इसिडि पोलिसी कन्फरेन्स’ सम्पन्न गरेको छ। शनिवार धुम्वाराही स्थित सूर्य इभेन्ट्समा विषय विज्ञ तथा अपेन सदस्य विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
अपेन केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। कार्यक्रममा ४ जना विषय विज्ञहरूले आफ्नो प्रस्तुति राखेका थिए भने समूहगत छलफल अन्तरक्रिया पनि राखिएको थियो। ४ वटा फरक फरक सत्रमा सम्पन्न भएका प्रस्तुतिहरूमा डा दिपु शाक्यले सरकारी नीति र अन्तर्राष्ट्रिय अभ्यासमा, डा मिनाक्षी दाहालले सरकारी नीति र कार्यान्वयनमा देखिएको फरकमा, अनिल आचार्यले कानुनी प्रावधानहरूमा र केपी लम्सालले खाना तथा पोषणमा आफ्नो प्रस्तुति राखेका थिए। यी प्रस्तुतिहरू पश्चात् प्रश्नोत्तर सहितको अन्तरक्रियात्मक कार्यक्रम राखिएको थियो।
अपेन केन्द्रीय सचिव सम्झना बस्नेतले सञ्चालन गरेको कार्यक्रममा संस्थाका महासचिव कृष्ण कुमार बोहरा, अध्यक्ष बद्री प्रसाद दाहाल र प्रमुख अतिथि सुमना श्रेष्ठले आ-आफ्नो भनाई राखेका थिए। सबैको साझा जोड चाहिँ राज्यले बनाउने नीति नियमहरूमा साना बालबालिकाहरूको सिकाई र विकासका लागि विशेष योजना बनाइनुपर्नेमा थियो।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै अपेनका केन्द्रीय महासचिव बोहराले कार्यक्रम उत्साहजनक रूपमा आफ्नो उद्देश्य पुरा गर्दै सफल भएको प्रतिक्रिया दिए। उनले कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सम्बद्ध सबैलाई धन्यवाद समेत दिए। अपेनले बालबालिकाको हितका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको र यो त्यसैको निरन्तरता भएको बताएका उनले राज्यले नीति नियम बनाउँदा सरोकारवालाको अनुभवलाई सुन्नुपर्छ भन्ने मान्यता अनुरूप पनि कार्यक्रम आयोजना गरिएको उल्लेख गरे। अपेनले निकट भविष्यमा पनि यस किसिमका सिर्जनात्मक कार्यक्रम आयोजना गर्ने उनको भनाई थियो ,
यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सकिन्छ। ।