काठमाडौँ- वसुन्धरामा रहेको साउथ वेस्टर्न स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ। शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो । सँगै शिक्षण सिकाइको प्रक्रियाको एक अभिन्न अंग अभिभावकको भूमिकालाई सम्मान गर्दै अभिभावक दिवस पनि एकैसाथ सम्पन्न गरिएको हो।
साउथ वेस्टर्न स्कुल सञ्चालक समितिका अध्यक्ष टिकाराम महराको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारी रहेकी थिइन्। त्यस्तै टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतम र साउथ वेस्टर्न स्टेट कलेजका प्रधानाध्यापक डा राजेन्द्र केसी कार्यक्रमको विशेष अतिथिका रूपमा रहेका थिए। विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

गणेश वन्दना बाट सुरु गरिएको कार्यक्रममा विद्यार्थीहरूले आफैँ उद्घोषण गर्दै मञ्चमा प्रस्तुत प्रत्येक प्रस्तुति बारे उपस्थित दर्शकहरूलाई जानकारी गराएका थिए। प्रज्ञा प्रतिष्ठानको हल पुर्याएर विद्यालयले वर्ष भरि सिकाएका सुन्दर प्रस्तुतिहरू विद्यार्थीले देखाइरहँदा उनीहरूका अभिभावक प्रफुल्लित देखिन्थे।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै विद्यालयकी माध्यमिक तह संयोजक समिता महर्जनले विद्यालय, विद्यार्थी र अभिभावकले धेरै प्रतीक्षा गरेको क्षणमा आइपुगेको उल्लेख गरिन्। उनले यति प्रतिष्ठित शैक्षिक संस्थाको इन्चार्जको रूपमा उभिएर स्वागत गर्न पाउनु गौरवको कुरा भएको भन्दै विद्यालय सधैँ बालबालिकाको सर्वपक्षीय विकासमा केन्द्रित रहेको बताइन्। श्रेष्ठले पिजि देखि पिएचडी सम्मको पढाई एउटै छाना मुनी साउथ वेस्टर्नमा भइरहेको उल्लेख गर्दै अभिभावकलाई निरन्तर सल्लाह, सुझाव र सहयोगका लागि अपिल गरिन्।
कार्यक्रममा विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै मन्तव्य राखेकी कक्षा ९ की छात्रा लिसा पुनले आफू विद्यार्थी प्रतिनिधि भएर बोल्न पाउँदा गौरवको महसुस गरिरहेको बताइन्। उनले अभिभावककै कारण विद्यार्थी र विद्यालयको अस्तित्व रहन सकेको भन्दै अभिभावकलाई धन्यवाद दिइन् । साउथ वेस्टर्नमा आफू जस्ता विद्यार्थीले पढाई मात्र नभई जीवनका लागि अत्यावश्यक मूल्य मान्यता पनि प्राप्त गरिरहेको उनको भनाइ थियो शिक्षकहरूको समर्पण र मेहनतको खुलेर तारिफ गरेकी उनले स्कुललाई पूर्ण बनाउन भूमिका खेल्ने सबै प्रति आभार व्यक्त गरिन् ।
प्रहरी निरीक्षक समेत रहेका अभिभावकका प्रतिनिधि वकिल बहादुर सिंहले विद्यालय, विद्यार्थी र अभिभावकको उचित सहकार्य बिना प्रभावकारी शिक्षण सिकाई हुन नसक्ने धारणा राखे। उनले आफ्ना बालबालिकाको हरेक गतिविधि प्रति अभिभावक चनाखो हुनुपर्ने भन्दै विद्यालयलाई मात्रै जिम्मा लगाउने प्रवृत्ति अभिभावकले छोड्नुपर्ने उल्लेख गरे। उनले हाल शिक्षा क्षेत्रमा देखिएका अन्य विभिन्न चुनौतीहरूको समेत चर्चा गर्दै नैतिक शिक्षा जस्ता विषयहरू पाठ्यक्रममा अनिवार्य समावेश गर्न सुझाव दिए।

कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक/शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमका विशेष अतिथि द्वय डा राजेन्द्र केसी र बाबुराम गौतमले समेत विद्यालयले खेलेको भूमिकाको चर्चा गर्दै कार्यक्रममा आफ्नो धारणा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक रमेश अधिकारीले विद्यालयले आज सम्म गरेका कामहरू र अब आगामी दिनमा गर्न लागेका केही महत्त्वपूर्ण योजनाहरू सुनाए। अभिभावकको सन्तुष्टिलाई बढाउन कहिले काहीँ हुन सक्ने कमजोरी तत्काल सुधार्न एक कमिटी बनाएको उल्लेख गरेका उनले हाल शिक्षामा देखिएका चुनौतीहरूको समेत चर्चा गरे। अभिभावकले टिपाएका प्रत्येक प्रश्न र जिज्ञासाको जवाफ दिएका अधिकारीले ती गुनासोहरू सम्बोधन गर्नका लागि बनाइएका योजनाहरू अभिभावकहरू माझ बाँडे। एउटा विद्यालय शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध बाट चल्ने भन्दै उनले रचनात्मक सल्लाह, सुझाव र सहयोगका लागि उनले अभिभावकहरूलाई अपिल गरे।
कार्यक्रमकी प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले १८ औँ अभिभावक दिवसको अवसरमा विद्यालयलाई बधाई तथा शुभकामना दिइन्। मानव जीवनमा शिक्षाको महत्त्व बारे चर्चा गरेकी उनले आजका बालबालिकाहरू भोलिको कर्णधार भएको भन्दै शिक्षामा भूमिका थोपर्ने भन्दा आजको समय सुहाउँदो शिक्षा दिनुपर्ने उल्लेख गरिन्। उनले विदेश अध्ययन गर्न जाने क्रम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउनुपर्ने र सिप अनुसारको रोजगारी सुनिश्चितता गर्नुपर्ने धारणा राखिन्।
औपचारिक कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति महराले प्राप्त सुझावहरूलाई मनन गर्दै विद्यालय अघि बढ्ने बताए। उनले विद्यार्थीको भविष्यका लागि सबै चिन्तित रहेको भन्दै त्यसका लागि सहकार्य गर्न अभिभावकहरूलाई अनुरोध गरे। विद्यालयले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेको र त्यही नै विद्यालयको गुणस्तरको परिचय भएको महराले बताए। उनले कार्यक्रम सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम अन्त्य भएको घोषणा गरे।

कार्यक्रमको अनौपचारिक स्तर अझै बढी विशेष बनेको थियो। साउथ वेस्टर्नका विद्यार्थीको प्रतिभाले भरपुर यो सत्रमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो। विभिन्न भेसभुसामा प्रस्तुत भएका विद्यार्थीहरूले सिंगो नेपाल मञ्चमा ल्याएको आभास हुन्थ्यो। सँगै प्रस्तुतिहरूमा समसामयिक नेपाली समाजको चित्रण गरिएको थियो भने प्रत्येक प्रस्तुतिले केही न केही महत्त्वपूर्ण सन्देश दर्शकलाई दिन्थे। कार्यक्रमको अन्त्यमा शिक्षक शिक्षिकाहरुले समेत सुन्दर नृत्य प्रस्तुत गरेका थिए। समग्रमा यी प्रस्तुतिहरूले कार्यक्रम हेर्न लायक बनेको थियो। कार्यक्रमका थप तस्बिरहरु हेर्न यहाँ र यहाँ क्लिक गर्नुहोस्।