काठमाडौँ- कपन काठमाडौँमा रहेको त्रि-ज्योति माध्यमिक विद्यालयमा कक्षा-०७ मा अध्ययनरत छात्र लोयाङ शेर्पा ‘वर्ल्ड राइजिड स्टार-२०२४’ मा विश्व विजेता भएका छन् । युरोपको जर्जियामा जनवरी २२ मा भएको उक्त प्रतियोगितामा विश्वभरबाट सहभागी भएका बालबालिकाहरूलाई पछि पार्दै उनी ट्यालेन्ट राउन्डको विजेता र सम्पूर्ण राउन्डबाट प्रमुख विजेता भएका हुन्।
विश्व विजेता बन्न सफल आफ्ना विद्यार्थीलाई बधाई दिँदै त्रि-ज्योति स्कुलका प्रधानाध्यापक गणेश मिश्र विगत लामो समयदेखि स्नेह, ज्ञान र नेतृत्वको माध्यमबाट जीवनोपयोगी शिक्षा प्रदान गर्दै आइरहेको र बालबालिकाको प्रतिभालाई उजागर गर्दै जाने अभियानमा संलग्न रहेको हुँदा यस्तो गौरवपूर्ण क्षण आएको बताउँछन्।
त्यस्तै विद्यालयका अध्यक्ष केशव प्रसाद दंगाल यो उपलब्धिले विद्यालयले गरिरहेको गतिविधिलाई प्रोत्साहन गरेको र आगामी दिनमा विद्यार्थीको चौतर्फी विकासका लागि अझै धेरै सक्रिय हुन प्रेरणा दिएको बताउँछन्। मात्र एजुकेसन सँगको संवादमा उनी भन्छन्, “हाम्रो विद्यालयले पढाइलाई जत्तिकै प्राथमिकता अतिरिक्त क्रियाकलापलाई पनि दिएको छ। सबै विद्यार्थी पढाइमा प्रथम आउन सक्दैनन् तर उनीहरू कुनै न कुनै प्रतिभाले अब्बल हुन्छन्। विद्यालयले यस्ता प्रतिभाहरू समयमै चिनेर त्यसमा उनीहरूको सिप विकास गर्दै भविष्य निर्माणमा सघाउने गरेको छ। त्यसकारण लोयाङ शेर्पा जस्ता विद्यार्थीहरू विद्यालयको मात्रै नभई देशकै गौरव बन्न सक्छन्। ”
त्रि-ज्योति स्कुल गुणस्तरीय शिक्षा सँगै विभिन्न अतिरिक्त क्रियाकलापहरूमा गर्ने उत्कृष्ट प्रदर्शनका कारण आफ्नो क्षेत्रमा चर्चित छ। विद्यालयले हाल प्रि स्कुल तहमा धमाधम भर्ना लिइरहेको छ।