Matra Education आइतबार, साउन १० २०८३

यी ४३ मध्ये को बन्ला त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपति?

यी ४३ मध्ये को बन्ला त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपति?

  • मात्र एजुकेशन
  • मंगलबार, माघ ९ २०८०


काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपति बन्नका लागि  ४३ जना प्राध्यापकले आवेदन दिएका छन्। शिक्षा मन्त्रालय स्रोतका अनुसार हिजो सोमबार आवेदन दिने समय सकिँदा सम्म दुई महिला र ४१ पुरुष उम्मेदवारले खुला प्रतिस्पर्धाका लागि आवेदन दिएका छन्।

पहिलो पटक खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति दिन लागिएकाले अबको उपकुलपति को बन्छ भन्ने जिज्ञासा सर्वत्र छ। प्राप्त आवेदनहरूलाई अहिले  उपकुलपति सिफारिस समितिले रुजु गरिरहेको बताइएको छ। समितिले कागजात अपुग भए माग गर्ने र विज्ञ टोली मार्फत मुल्यांकन गरेर तिन जनाको नाम सिफारिस गर्ने छ। तिनै तिन जना मध्ये एकलाई  प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले उपकुलपति नियुक्त गर्नेछन्। शिक्षामन्त्री तथा सहकुलपति अशोककुमार राई अध्यक्ष रहेको उपकुलपति सिफारिस समितिमा शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् ।

यस अघि समितिले उपकुलपति नियुक्ति गर्न १५ दिन समय दिएर आवेदन माग गरेको थियो । आवेदन दिनेहरूमा त्रिविका निमित्त उपकुलपति शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्व उपकुलपति तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिविका पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटा लगायत छन् ।

त्यस्तै त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टुकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्व डिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

समितिले निर्धारण गरेको सिफारिस कार्यविधि अनुसार अबको प्रक्रिया अगाडी बढ्नेछ। कार्यविधि अनुसार अन्तर्वार्ता र प्रस्तुतीकरण बाहेकका अंकबाट अल्पसूची तयार पारिनेछ । आवेदन दिनेमध्ये एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ, तिनै उम्मेदवारलाई अल्पसूचीमा राखिनेछ । अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने भनिएको छ ।

कात्तिक १७ देखि त्रिविमा उपकुलपति पद रिक्त छ । १९ औँ उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष भुसाललाई निमित्तको जिम्मेवारी दिइएको थियो । शिक्षाध्यक्ष (रेक्टर) र रजिस्ट्रारको पद पनि हाल रिक्त रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड