काठमाडौँ- चाबहिल स्थित टेक्सास एजुकेसन नेटवर्कले एनुअल इसिए तथा स्पोर्ट्स मिट सम्पन्न गरेको छ। नेटवर्कले हरेक वर्ष एक हप्ता सम्म विविध गतिविधिहरू गर्दै सञ्चालन गर्ने एनुअल स्पोर्ट्स मिटको यो वर्षको संस्करण सम्पन्न भएको हो। गत पुस २८ गते उद्घाटन भए पश्चात् सुरु भएको प्रतियोगितात्मक कार्यक्रम गत शुक्रवार माघ ५ गते कलेज परिसरमा आयोजित एक औपचारिक कार्यक्रम बाट समापन भएको हो। समापन कार्यक्रममा प्रतियोगितात्मक गायन तथा नृत्य प्रतियोगिता पनि राखिएको थियो।
टेक्सास इन्टरनेसनल कलेजका एकेडेमिक चिफ प्रा.डा गोविन्द प्रसाद आचार्यको सभापतित्वमा तथा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका संरक्षक प्रा.डा. केशव कुमार श्रेष्ठको उपस्थितिमा समापन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्का प्रमुख अतिथि र नेपाल प्रहरीका डिएसपी केशव कुमार थेबे विशेष अतिथिका रूपमा रहँदा साङ्गीतिक दुनियाँका चर्चित हस्तिहरू समन अधिकारी, महेश गोदार, भूगोल दाहाल र शारिका घिमिरेले अतिथि र निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा साता भर सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदका प्रतियोगिताहरूका विजयी र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो।
कार्यक्रम समापन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल स्कुल/कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले विद्यार्थीहरूको चौतर्फी विकासका लागि कार्यक्रम आयोजना गरिएको र सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। उनले मन्टेश्वरी देखि स्नातकोत्तर तह सम्मका विद्यार्थीहरुले उत्साहजनक रुपमा उल्लेख्य सहभागिता जनाउँदै विभिन्न प्रतियोगिताहरूमा भाग लिएको बताए। टेक्सास इन्टरनेसनलले सधैँ आधुनिक शिक्षा सँगै संस्कार र अध्यात्मवादको संयोजन गर्ने गरेको भन्दै उनले योग, ध्यान र खेलकुद मानव जीवनको अभिन्न अंग भएको उल्लेख गरे। यस किसिमका खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न तयार पार्ने उनको भनाई थियो।
शुक्रवारै सम्पन्न गायन तथा नृत्य प्रतियोगितामा गायन तर्फ क्रमशः सार्थक लामा प्रथम, मिङ्मा नूर्बू शेर्पा, रोजन यादव र रेनुका तामाङ द्वितीय, अनमोल श्रेष्ठ र आशुतोष उप्रेती तृतीय स्थान हासिल गर्न सफल भए। त्यस्तै नृत्य तर्फ बिबिएमको थारु डान्स प्रथम, प्लस टुको नुह्यंग राई नृत्य द्वितीय र बिआइटिको मारुनी नृत्य तृतीय हुन सफल भए।
समापन कार्यक्रमलाई टेक्सास कलेजका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कुशलता पूर्वक सञ्चालन गरेका थिए।