काठमाडौँ- कुमारीपाटी ललितपुरमा रहेको युनाइटेड एकेडेमीले २५ औँ वार्षिकोत्सव मनाएको छ। सफलताको गौरवमय २५ वर्ष पुरा गरेको उपलक्ष्यमा संस्थाले गत सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो।
युनाइटेड एकेडेमीको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका संस्थापकहरूको विशेष उपस्थिति रहेको थियो। युनाइटेडका संस्थापक अध्यक्ष दृप चाम्लिङ, संस्थापक निर्देशक नरहाङ राई, संस्थापक तथा एकेडेमिक डाइरेक्टर कविराज वान्तवा, प्रधानाध्यापक डा लाल रापचा, एकेडेमिक हेड वसन्त नेपाली आदिले संस्थाको २५ वर्षे यात्राका बारेमा आ-आफ्नो धारणा राखेका थिए। विशेष अतिथिका रूपमा उपस्थित एकेडेमीकी पूर्व प्रधानाध्यापक डा प्रमिला राई र पूर्व विज्ञान विषय संयोजक महेश ओझाको उपस्थितिले कार्यक्रमलाई अझै रोचक बनेको थियो।
वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्ना कर्मचारीहरूलाई मायाको चिनो सहित सम्मान गरेको थियो। कर्मचारीहरूको मेहनत र समर्पणले संस्था आजको स्थान सम्म आइपुग्न सफल भएको भन्दै संस्थाले प्रत्येक कर्मचारीको भूमिकालाई प्रशंसा गर्दै आगामी दिनमा पनि उही समर्पण जारी रहने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो। गायन, नृत्य सहितका विविध प्रस्तुतिहरू समेटिएको सांस्कृतिक कार्यक्रमले कार्यक्रम मनोरञ्जनात्मक पनि बनेको थियो।