काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यो पटक बाट ग्रेडिङ पद्धति लागु नहुने जनाएको छ। शिक्षा पत्रकार सञ्जाल (इजोन) ले हिजो आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस्तो जानकारी दिएका हुन्। यस पटक देखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि उनले स्पष्ट पारेका छन् । ग्रेडिङ पद्धति हटेपछि अब हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।
शर्माले एसइई परीक्षा नहुने हो कि भनेर आशंका नराख्न पनि आग्रह गरे। संसद्मा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसइई नरहेकाले यस्तो सोचिएको भन्दै उनले समितिमा छलफल भइरहेको विधेयकले परीक्षामा कुनै असर नगर्ने बताए । प्रश्नपत्र तयार पार्ने र परीक्षा तालिका निकाल्ने काम बोर्डले गर्ने र व्यवस्थापन प्रदेशले गर्ने उनको भनाई थियो। उनका अनुसार माघको पहिलो हप्ता परीक्षा तालिका सार्वजनिक गर्ने र चैतको पहिलो हप्ता परीक्षा गर्ने बोर्डको तयारी छ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन भइरहेकाले त्यहाँ पनि समयमै परीक्षा हुने शर्माको भनाइ थियो ।