काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि निकालेको सूचना रद्द गरेको छ।
आइतबार एक सूचना जारी गर्दै समितिले त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्वानसम्बन्धी मिति २०८०।९।२० गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना समितिको मिति २०८०/०९/ २१ को निर्णयअनुसार रद्द गरिएको जानकारी दिएको हो।
अघिल्लो सूचना किन रद्द गरियो भन्ने सूचनामा उल्लेख छैन तर यस अघि जारी गरिएको सूचनामा समितिले राखेको मापदण्ड मध्ये (ङ) बुँदामा उल्लेख योग्यतामा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने भन्ने विषयमा व्यापक विरोध भएपछि विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले गरेको प्रतिबद्धता पुरा हुने गरी मापदण्ड सच्याएर अर्को सूचना जारी गर्न निर्देशन दिएको बताइएको छ। प्रधानमन्त्री दाहालले जो सुकै योग्य नेपाली नागरिकले उपकुलपति बन्नका लागि आवेदन दिन सक्ने घोषणा गरेका थिए।
