काठमाडौँ- इमाडोल स्थित युनाइटेड स्कुल र सातदोबाटोको युनाइटेड युनिभर्सल स्कुलले स्पोर्ट्स मिट सम्पन्न गरेका छन्। पुस ११ गते देखि १३ गतेसम्म सातदोबाटो ललितपुर स्थित ‘आर्मी स्पोर्ट्स सेन्टर’ मा दुवै विद्यालयले विभिन्न खेलकुदका प्रतियोगिताहरू सञ्चालन गर्दै आफ्ना विद्यार्थीको खेल कौशललाई प्रोत्साहन गरेका हुन्। यी दुवै विद्यालय युनाइटेड एकेडेमी ग्रुप अन्तर्गत सञ्चालित छन्।
एक विशेष उद्घाटन समारोह आयोजना गर्दै मार्च पास बाट सुरु भएको प्रतियोगितामा विभिन्न उत्प्रेरणात्मक मन्तव्यहरू राखिएको थियो भने वक्ताहरूले मानव जीवनमा खेलकुदको महत्त्व बारे चर्चा गरेका थिए। स्पोर्ट्स मिट अवधिभर विभिन्न खेलकुदका गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ। रनिङ रेस, जेभेलिन थ्रो, हाई जम्प, लङ्ग जम्प, भलिबल, ब्याडमिन्टन, टग अफ वार, फुटसल लगायतका खेलकुदहरूमा सहभागीले प्रतिस्पर्धा गरेका थिए। हरेक खेल गतिविधिमा दर्शकको साथले माहौल रोचक बनेको थियो।
विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुन सफल विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण सहित १३ गते कार्यक्रम समापन गरिएको थियो। समापनकै अवसरमा युनाइटेड प्रि स्कुलमा अध्ययन गर्ने साना बालबालिकाले देखाएको खेलकुदले कार्यक्रमलाई समावेशी, रोचक र अझै अर्थपूर्ण बनाएको थियो।