काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को टोखा र तारकेश्वर नगर कमिटीको संयुक्त आयोजनामा एक दिने शिक्षण पद्धति तालिम सम्पन्न भएको छ। शनिवार साउथ वेस्टर्न कलेजको सभाहलमा आयोजित तालिम प्रि स्कुल अध्ययन गर्ने बालबालिकाहरूको हेरचाह कसरी गर्ने ? बाल मनोविज्ञान अनुसारको शिक्षण कसरी गर्ने लगायत विषयमा केन्द्रित थियो। तालिममा ३२ वटा विद्यालयका कुल ३०० शिक्षक/शिक्षिकाहरूको सहभागिता रहेको थियो।
अपेन तारकेश्वरकी अध्यक्ष रेखा हमालले तालिमको अध्यक्षता गरेकी थिइन् भने उक्त विषयका विज्ञ प्रशिक्षक राम तिवारीले सहभागीलाई करिब ३ घण्टा प्रशिक्षण दिएका थिए। सहभागीहरूले तालिम पश्चात् बालबालिकाको व्यवहार बुझ्न र त्यस अनुसारको शिक्षण गर्न अझै धेरै ज्ञान मिलेको प्रतिक्रिया दिएका थिए।
मात्र एजुकेसन सँग कुरा गर्दै अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीले तालिम अर्थपूर्ण भएको बताइन्। उनले सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको र आफूहरूले बालबालिकालाई पढाउने मात्रै भन्दा पनि उनीहरू सँग भावनात्मक रूपमा जोडिएर सिकाउँदा शिक्षणको उद्देश्य पुरा हुन सक्छ भन्ने बुझेको उल्लेख गरिन् । अपेनले समय समयमा यस किसिमका सिर्जनात्मक कार्यहरू गर्दै आएको र भोलिका दिनमा पनि जारी रहने उनको भनाई थियो।
कार्यक्रम आयोजनाका लागि इनर व्हिल क्लब अफ टोखाले समेत सहकार्य गरेको थियो। त्यस्तै साउथवेस्टर्न कलेजले आफ्नो सभाहल उपलब्ध गराएर सहयोग गरेको थियो।