काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गरे। सम्बोधन मार्फत सरकारले गरेका कामको फेहरिस्त सुनाएका उनले प्रभावकारी काम गर्न नसकेको भन्दै आफ्नै कमजोरी समेत स्वीकार गरे। दाहालले सम्बोधन मार्फत शिक्षा क्षेत्रमा केही आशा र धेरै आश्वासन बाँडेका छन्। उनले गरेका केही घोषणा यस अघि गरिने जस्तो सस्तो लोकप्रियताका लागि होइन भने शिक्षा क्षेत्र हुने आशा पनि गर्न सकिन्छ।
प्रधानमन्त्री दाहालले गरेको घोषणा मध्ये सबैभन्दा अर्थपूर्ण घोषणा हो अब विश्वविद्यालयमा राजनीतिक भागबन्डा नहुने घोषणा। त्यसो त यस अघि त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा पनि दाहालले उपकुलपति नियुक्ति गर्दा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा गर्ने घोषणा गरेका थिए। यही कुरा दोहोर्याउँदै सम्बोधनका क्रममा उनले भने,‘‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपिल गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन्। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा घोषणा गरिसकेको छु, अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन।’’
संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रस्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने उल्लेख गर्दै उनले अगाडी भने, ‘‘अब मेरिटोक्रेसी सुरु हुनेछ र त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थान बिन्दु बन्नेछ। नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने, युवा जनशक्तिसँगै पुँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहु-आयामिक कदम चालिँदै छ।’’
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरुरी तर तर सात वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक आफूले संसद्मा पेस गरेको दाहालको दाबी थियो। उनले त्यसका कमीकमजोरी सच्याई छिटै पारित गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे। विद्यालयलाई राजनीतिक क्रीडास्थल बनाउनु हुँदैन भन्ने आफ्नो निष्कर्ष रहेको भन्दै उनले आम शिक्षक, राजनीतिक दल र अन्य सरोकारवालाको साथ चाहेको बताए।
भर्ना अगावै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन सफल भएको भन्दै त्यसलाई आफ्नो ठुलो उपलब्धिका रूपमा चित्रित गरेका दाहालले यसै शैक्षिक वर्ष भित्र शिक्षक विद्यार्थी अनुपातमा सुधार गरिने जनाए। उनले सात प्रदेशमा सुविधायुक्त स्टुडियो निर्माण गरी दुर्गम र दक्ष शिक्षकको अभाव भएका स्थानीय तहहरूमा रहेका विद्यालयहरूमा आगामी शैक्षिक वर्षदेखि नै सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अङ्ग्रेजी विषयको पठनपाठन सुरु गरिने घोषणा गरे।
चिकित्सा शिक्षालाई सस्तो र आम जनताको पहुँचमा पुर्याउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा नर्सिङ, प्यारामेडिक्स लगायतका शैक्षिक कार्यक्रम सञ्चालनको गृहकार्य भइरहेको दाहालको भनाई थियो ।
दाहालले गरेका घोषणाहरू कति कार्यान्वयन होलान्, त्यो त भविष्यले बताउला तर यदि उनले भनेजस्तो विश्वविद्यालयमा राजनीतिक भागवण्डा अन्त्य हुन सक्यो भने त्यो एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपाली शिक्षा क्षेत्रमा रहनेछ।