Matra Education आइतबार, साउन १० २०८३

भव्य कार्यक्रमका बिच `साउथ वेस्टर्न गट ट्यालेन्ट´ को फिनाले सम्पन्न

भव्य कार्यक्रमका बिच `साउथ वेस्टर्न गट ट्यालेन्ट´ को फिनाले सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, पौस ९ २०८०


काठमाडौँ- साउथ वेस्टर्न स्कुल, वसुन्धराले आयोजना गरेको `साउथ वेस्टर्न गट ट्यालेन्ट´ को फिनाले भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार साउथ वेस्टर्न स्टेट कलेजको सभाहलमा आयोजित ग्राण्ड फिनाले मार्फत विद्यालयले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै आफूलाई अब्बल साबित गरेका विद्यार्थीहरू मध्यबाट सर्वोत्कृष्ट छनोट गरेको हो । प्रतियोगितामा थुप्रै विद्यार्थीहरू मध्यबाट विभिन्न ५ चरण पार गरेका अन्तिम ४१ सहभागीले प्रतिस्पर्धा गरेका थिए ।

साउथ वेस्टर्न स्कुल सञ्चालक समितिका अध्यक्ष टिकाराम महराको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गायिका टिका प्रसाईँ, कलाकार तथा मोडल सागर लम्साल (बले) र संगीतकार सुरेश बानियाँले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश अधिकारी, सह-प्रधानाध्यापक कुमार केसी, विभिन्न तहका इन्चार्जहरू सहित शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण बनेको प्रतिस्पर्धा साँच्चै रोचक बनेको थियो। अन्तिम चरणको प्रतिस्पर्धा र उपाधि सँगको छोटो दुरीका कारण प्रतिस्पर्धीहरू आफूलाई अब्बल देखाउन प्रयासरत देखिन्थे। सँगै उनीहरूको मेहनत र मार्ग निर्देशन गर्ने शिक्षक/शिक्षिकाको सिर्जनात्मकता मञ्चमा प्रस्ट झल्किएको थियो। गायन, नृत्य र वाद्यवादनमा भाग लिएका प्रतिस्पर्धी विद्यार्थीले आफ्नो फरकपन प्रस्तुत गर्ने प्रयास गरेका थिए । त्यस्तै `स्ट्यान्ड अप कमेडी´ र नाटक प्रस्तुत गर्ने विद्यार्थीले समसामयिक नेपाली समाजको प्रतिनिधित्व गर्दै हाल देखिएका विकृतिमाथि चोटिले व्यङ्ग्य प्रहार गरेका थिए । समग्र प्रस्तुतिहरू हेर्दा बालबालिकाको प्रतिस्पर्धा नभई व्यावसायिक कलाकारको प्रस्तुति जस्तो देखिन्थ्यो ।

ग्राण्ड फिनालेमा प्राथमिक देखि माध्यमिक तह पढ्ने आफ्ना छोराछोरीहरूले दिएको प्रस्तुति देखेर विद्यालयका अभिभावकहरू प्रफुल्लित देखिन्थे।

मात्र एजुकेसन सँग कुरा गर्दै साउथ वेस्टर्न स्कुलका प्रधानाध्यापक रमेश अधिकारीले पि.जि देखि पि.एच.डि सम्म पढाइ हुने थोरै शैक्षिक संस्था भित्र विद्यालय पर्ने उल्लेख गरे। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र आत्मविश्वास विकासका लागि विद्यालयले शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँग सँगै लगेको उनको भनाई थियो। प्रतिस्पर्धा गरेपछि नतिजा जे जस्तो आए पनि स्विकार्नुपर्ने भन्दै उनले आफूमा रहेको डर जितेर मञ्च सम्म पुग्दै आफूलाई अब्बल साबित गर्ने सबै विद्यार्थी आफ्ना लागि विजेता भएको बताए। हार जित र उतारचढावहरू मानव जीवनको अभिन्न अंग भएको उनको धारणा थियो ।`गट ट्यालेन्ट´ जस्ता कार्यक्रमहरूले विद्यार्थीको क्षमता पहिचान गरी त्यसलाई उनीहरूको करियर बनाउने उद्देश्य बोकेको हुनाले ९ औँ संस्करण सम्म कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उनको भनाई थियो ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति महराले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रम विद्यालयले आयोजना गर्ने हुँदा उस्तै साथ सहयोगको अपेक्षा आफूले गरेको उल्लेख गरे। विद्यार्थीको सर्वपक्षीय विकासका लागि विद्यालय प्रशासन सधैँ तयार रहेको बताउँदै उनले औपचारिक रूपमा कार्यक्रम अन्त्य गरे।

कार्यक्रममा सहभागी तथा विजयी विद्यार्थीलाई विद्यालयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

विजयी विद्यार्थीहरूको सुची हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड