काठमाडौँ- युनाइटेड प्रि-स्कुल सातदोबाटो ललितपुर स्थित एस. के. जी न्युटनका बालबालिकाहरूको स्पेसल एसेम्बली सम्पन्न भएको छ। गत पुस २ गते बालबालिकाहरूले कक्षामा सिकेका विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गत शैक्षिक, व्यवहारिक र प्रयोगात्मक सिपलाई आ-आफ्नो बौद्धिक क्षमता मार्फत उपस्थित दर्शकको अगाडी प्रस्तुत गर्दै एसेम्बली सम्पन्न गरेका हुन्। अनुशासनबद्ध कुनै पनि सही विचार वितरण गर्नुलाई स्पेसल एसेम्बलीका रूपमा शैक्षिक जगत्मा चिनिन्छ।
कार्यक्रममा बालबालिकाहरूले दरिलो आत्मविश्वासका साथ रोचक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। बालबालिकाहरूले राष्ट्रिय गान , सरस्वती वन्दना , राष्ट्रिय खुकुरी, राष्ट्रिय रङ्ग, राष्ट्रिय फूल, राष्ट्रिय जनावर, राष्ट्रिय झण्डा, राष्ट्रिय पन्छीको तस्बिर मार्फत राष्ट्रिय गौरव चिनारी र महत्त्व बुझाउने प्रयास गरेका थिए । त्यस्तै पठन सिप, बौद्धिक क्षमताको विकास र शब्द भण्डारको विकासलाई अझ बढवा दिन कथा वाचन, कविता वाचन, विद्वानहरूका जीवनी र सामान्य ज्ञानका प्रश्न उत्तर पनि प्रस्तुत गरी सही उत्तर दिए बापत पुरस्कार वितरण पनि कार्यक्रममा गरिएको थियो ।
कार्यक्रममा युनाइटेड युनिभर्सल स्कुलकी कोअर्डिनेटर सुजिना श्रेष्ठको समेत उपस्थिति रहेको थियो। कार्यक्रम पश्चात् प्रतिक्रिया दिँदै प्रि-स्कुल हेड कल्पना विष्टले कार्यक्रम ज्ञानवर्धक, चेतनामूलक र रोचक हुनुका साथै बालबालिकाहरूको सिकाइको स्तरमा वृद्धि, शब्द भण्डार क्षमता र स्मरण शक्तिको विकास , पठन सिप र बौद्धिक क्षमताको विकासका साथै चौतर्फी विकासमा टेवा पुग्ने किसिमले सम्पन्न भएको बताइन।