Matra Education आइतबार, साउन १० २०८३

रिलायन्स स्रष्टा सम्मान बाट प्राज्ञ पौडेल र कवि हेम प्रभास सम्मानित

रिलायन्स स्रष्टा सम्मान बाट प्राज्ञ पौडेल र कवि हेम प्रभास सम्मानित

  • मात्र एजुकेशन
  • शनिबार, मंसिर ३० २०८०


काठमाडौँ- यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान बाट प्रा.डा. हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मान बाट कवि हेम प्रभास सम्मानित भएका छन्। रिलायन्स साहित्य समाजले ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा शनिवार आयोजना गरेको कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रममा यी दुई व्यक्तित्व सम्मानित भएका हुन्। रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गत संस्कृति विभागमा आबद्ध समाजले हरेक वर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा यो कार्यक्रम आयोजना गर्दै आएको छ। सम्मान बाट अघिल्ला वर्षहरूमा पनि थुप्रै दिग्गज साहित्यकारहरू सम्मानित भइसकेका छन्।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ समालोचक, कवि तथा निबन्धकार डा. पौडेलले आफ्ना समालोचना, सृजना र भाषा व्याकरणका एक दर्जन कृति मार्फत नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेको हुँदा रु २५००० राशिको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। त्यस्तै आजको पुस्ता माझ अत्यन्तै लोकप्रिय प्रखर युवा कवि हेम प्रभासको फरक शैली, उनका रचनाहरूले बोक्ने काव्य चेतना र उदीयमान युवा कवि भएकाले रु ११००० राशिको रिलायन्स युवा प्रतिभा सम्मान उनलाई प्रदान गरिएको आयोजकको भनाई छ।

शनिवार कपन स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजित यो महत्त्वपूर्ण कार्यक्रमको साक्षी बन्न भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका व्यक्तित्वहरू पुगेका थिए। रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जंग थापा सभापति रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तिल विक्रम नेम्बाङ (वैरागी काइँला) प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा प्रा पुरुषोत्तम दाहाल, छन्द कवि प्रा डा देवी नेपाल, साहित्यकार डा विष्णु केसी, डा रमेश शुभेच्छु, प्रा डा रुद्र पौडेल, प्रा रोहित पौडेल, वरिष्ठ साहित्यकार कलानिधि दाहाल सहित रिलायन्स शैक्षिक प्रतिष्ठान अन्तर्गत विभिन्न संस्थामा कार्यरत शिक्षक कर्मचारीहरू तथा शुभचिन्तकहरू उपस्थित थिए।

दिगविजय लामिछानेले जिते रिलायन्स राष्ट्रव्यापी वक्तृत्वकलाको उपाधि

शनिवारको कार्यक्रममा चौधौँ रिलायन्स देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पनि उपस्थित साहित्यकारहरू माझ गराइएको थियो। यस अघि देशभर बाट सहभागिता जनाएका प्रतिस्पर्धीहरूले शुक्रवार नै प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये अन्तिम ५ को छनोटमा परेकाहरूले आज प्रतिस्पर्धा गरेका हुन्।

‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा भएको उक्त वक्तृत्वकला प्रतियोगितामा महेश संस्कृत गुरुकुलमका दिगविजय लामिछाने प्रथम हुन सफल भए। त्यस्तै टाइमलाइन स्कुलकी आर्या कार्की द्वितीय र रिपुमर्दिनी सैनिक स्कुलका सुतृष्ण पौडेल तृतीय हुँदा संस्कृत मावि रानीपोखरीका विजय तिमल्सिना र कान्ति भैरव गुरुकुलका गणेश पराजुली प्रोत्साहन पुरस्कार पाउन सफल भए। कार्यक्रमको सञ्चालन रिलायन्सका शिक्षक श्रीधर प्रसाद पौडेलले गरेका थिए।

आयोजकले आजै विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको छ।

कार्यक्रमका थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड