काठमाडौँ- चाबहिलमा रहेको टेक्सास मन्टेश्वरी स्कुलले ‘ट्यालेन्ट सो’ कार्यक्रम सम्पन्न गरेको छ। शनिवार टेक्सास इन्टरनेसनल स्कुलमा आयोजित एक कार्यक्रमका बिच मन्टेश्वरीले आफ्ना अभिभावकहरूलाई साक्षी राख्दै उनीहरूलाई आफ्ना बालबालिकाहरूको सुन्दर प्रस्तुति र प्रतिभा देखाएको हो। कार्यक्रममा करिब २०० बालबालिकाहरूले आफ्नो प्रस्तुति दिएका थिए।
टेक्सास इन्टरनेसनल कलेजका ‘चिफ अफ एकेडेमिक्स’ प्रा. डा. गोविन्द प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौँ महानगरका पुर्व शिक्षा अधिकृत मोतीराज खनाल रहेका थिए। त्यस्तै कार्यक्रममा मन्टेश्वरीका अभिभावक, विद्यार्थी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरू सहित शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। कलिला बालबालिकाहरूको प्रस्तुतिले सबैलाई मोहित पारेको कार्यक्रममा बालबालिकाको प्रतियोगी प्रस्तुतिको मुल्यांकन गर्ने जिम्मा चर्चित नायिका बेनिशा हमाल, म्युजिक भिडियो प्रसिद्ध संगीत भिडियो निर्देशक समन अधिकारी तथा तथा टेक्सस इन्टरनेसनल कलेजकी अनुसन्धान तथा व्यवस्थापन विभाग प्रमुख सरला कार्कीले पाएका थिए।
कार्यक्रमको सुरुवातमा साना बालबालिकाले शुद्ध उच्चारण गरेको संस्कृत मन्त्रले उपस्थित सबैको ध्यान खिच्न सफल भएको थियो भने कार्यक्रम अवधिभर नै मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीले सुन्दर प्रस्तुतिहरू आफ्ना अभिभावकहरू सामु प्रस्तुत गरेका थिए।
कार्यक्रममा टेक्सास एजुकेसन नेटवर्कका अध्यक्ष भेष राज पोखरेल तथा प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखुले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल स्कुलका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नका लागि कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिए। समयमै विद्यार्थीको रुचि, चाहना, क्षमता पहिचान गरी त्यसलाई विकास गर्न सके आजको प्रतिस्पर्धात्मक युगमा उनीहरूले त्यसैलाई आफ्नो करियर बनाउन सक्ने र यसरी उनीहरूको भविष्य सुरक्षित हुन सक्ने उनको धारणा थियो । बालबालिकाहरूलाई आपसमा प्रतिस्पर्धा गराई विजयी हुनेलाई पुरस्कृत पनि गरिने हुँदा यसले उनीहरूमा आफूले अझै राम्रो गर्नुपर्छ भन्ने भावनाको विकास हुने उनको भनाई थियो।
कार्यक्रममा सहभागी र विजयी विद्यार्थी सबैलाई संस्थाले मायाको चिनो प्रदान गरेको थियो।
टेक्सास मन्टेश्वरी देखि मास्टर्स सम्म पढाइ हुने प्रतिष्ठित शैक्षिक संस्था हो। यसले यस किसिमका थुप्रै कार्यक्रमहरू गर्दै आएको छ। तपाईँ यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ।