काठमाडौँ- चाबहिल स्थित मनास्लु वर्ल्ड कलेज र शंखरापुर नगरपालिका बिच सहकार्य गर्ने सम्झौता भएको छ। बिहीबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख रमेश नापित र कलेजका अध्यक्ष गेन्द्र लामाले समझदारी पत्रमा हस्ताक्षर गर्दै शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि सहकार्यको मार्ग निर्माण गरेका हुन्। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शुकदेव नेपाल लगायत विभिन्न वडाका वडा अध्यक्षहरू समेत सहभागी थिए।
सम्झौता भए सँगै मनास्लु वर्ल्ड कलेजले अब शंखरापुर नगरपालिकाको विशेष सिफारिसमा नगरपालिका भित्रका एस ई ई उत्तीर्ण जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ। यस्तो छात्रवृत्ति वार्षिक १० जनालाई प्रदान गर्ने र स्नातक तहका लागि पनि छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ ।
त्यस्तै सम्झौता पश्चात् नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूका शिक्षक शिक्षिका तथा विद्यार्थीहरूलाई क्षमता अभिवृद्धि तथा विभिन्न शैक्षिक उन्नयनका कार्यक्रमहरूमा मनास्लु वर्ल्ड कलेजले विशेष सहयोग तथा सहकार्य गर्ने भएको छ।
