Matra Education आइतबार, साउन १० २०८३

ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफ प्रतियोगिताको उपाधि भ्याली पब्लिकलाई

ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफ प्रतियोगिताको उपाधि भ्याली पब्लिकलाई

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर २६ २०८०


काठमाडौँ- कपन स्थित भ्याली पब्लिक स्कुलले ‘पाँचौँ ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफ’ प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार क्षेत्रपाटि स्थित ह्वाइटफिल्ड सेकेण्डरी स्कुलको सभाहलमा आयोजित अन्तिम चार प्रतिस्पर्धी विद्यालय बिचको रोचक फाइनल राउन्डमा २५० अंक सहित शीर्ष स्थानमा रहँदै उसले उपाधि हात पारेको हो। त्यस्तै २०५ अंक सहित एभिएम स्कुलले दोस्रो स्थान हासिल गर्दा ब्राइट फ्युचर स्कुल १७० अंक सहित तेस्रो र एभरेस्ट इङ्लिस स्कुल सान्त्वना स्थानमा कायम भए। यी चार विद्यालय आ- आफ्नो समूहको विजेता बन्दै सेमिफाइनल राउन्ड प्रवेश गरेका थिए।

कुल २३ विद्यालयको सहभागितामा ह्वाइटफिल्ड सेकेण्डरी स्कुलले ‘ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफको पाँचौँ संस्करण’ सम्पन्न गरेको हो। अघिल्ला चार वटा संस्करणहरूको सफलतालाई निरन्तरता दिँदै गत २४ गते सुरु भएको प्रतियोगिता आज २६ गते भव्य कार्यक्रम गर्दै समापन भएको हो। उपत्यकाव्यापी उक्त प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयहरूको सहभागिता रहेको थियो।

प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा एभिएम स्कुल र एभरेस्ट इङ्लिस स्कुलका प्रधानाध्यापकहरुले समेत आफ्नो विचार राखेका थिए। हाजिर जवाफ प्रतियोगिताको फाइनल सकिए सँगै आयोजकले सहभागी सबै प्रतियोगी विद्यार्थीलाई प्रमाणपत्र दिएको थियो। कार्यक्रममा प्रथम हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु १५००० दोस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु १००००, तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु ५००० तथा सान्त्वनाले मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै ह्वाइटफिल्ड स्कुलका प्रधानाध्यापक पारस श्रेष्ठले सबैको साथ सहयोगका कारण अघिल्ला चार वटा संस्करण जस्तै यो पाँचौँ संस्करण पनि सफल भएको प्रतिक्रिया दिए। उनले विजयी विद्यालयलाई बधाई दिँदै सबै प्रतिस्पर्धीलाई आगामी यात्राका लागि शुभकामना दिए। श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने रिडमोर पब्लिकेसन, विद्यार्थी पुस्तक भण्डार र अस्मिता पब्लिकेसनलाई पनि धन्यवाद दिए।

ह्वाइटफिल्ड स्कुलका संयोजक राममणि बगालेले सञ्चालन गरेको कार्यक्रममा उनी सहित विमल चापागाईँले क्विज मास्टरको भूमिका निर्वाह गरेका थिए।

प्रतियोगिताको उद्घाटन तथा समापन समारोहका तस्बिरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड