काठमाडौँ- गोकर्णेश्वर नगरपालिका- ४, माकलबारी स्थित गोकर्णेश्वर लाइट एकेडेमीद्वारा आयोजित ‘जिएलए क्विज मेनिया सिजन-२ ‘ को उपाधि द सेलिब्रेसन को एड स्कुलले जितेको छ । दुई दिन लगाएर सम्पन्न भएको उक्त प्रतियोगितामा उपत्यका भित्रका ३६ ओटा विद्यालयहरू सहभागी भएका थिए । सहभागी मध्येबाट १२ ओटा विद्यालय समूह चरण पार गर्न सफल भएका थिए ।
प्रतियोगिताको सेमी फाइनल चरणबाट ६ ओटा समूह फाइनल चरणमा प्रवेश गरेका थिए । फाइनल चरणको प्रतिस्पर्धामा द सेलिब्रेसन को एड प्रथम, कुण्डलिनी स्कुल द्वितीय र फुलब्राइट एकेडेमी तृतीय स्थान हासिल गर्न सफल भए । कार्यक्रम समापन समारोहमा शनिवार विशेष कार्यक्रम आयोजना गर्दै विजेता समूहलाई प्रमाणपत्र, ट्रफी, मेडल तथा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः १००००, ७००० र ५००० नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै फाइनल चरणमा प्रवेश गर्न सफल स्वर्ण शिक्षा इङ्लिस स्कुल, हिल साइड एकेडेमी तथा सेचेन महाबौद्ध विद्यालयलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम समापन समारोहमा प्याब्सन केन्द्रीय समितिका अध्यक्ष डिके ढुङ्गानाले विद्यालयमा हुने यस्ता कार्यक्रमले विद्यार्थीमा हुने अन्तर्निहित क्षमताको विकास हुने भएकाले यस्ता कार्यक्रम भइरहनुपर्ने विचार व्यक्त गरे।
यस अघि उद्घाटन समारोहमा प्रमुख अतिथि बनेका गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकणेश्वर नगरपालिका भित्रका विद्यालयमा हुने यस्ता कार्यक्रमले आफूलाई उत्साहित बनाएको र यस्ता कार्यका लागि नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका थिए।
कार्यक्रममा प्याब्सन काठमाडौँका सचिव सुदर्शन थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उक्त कार्यक्रममा क्विज मास्टरको भूमिका शिक्षक मधुसूदन ढुङ्गाना र शिक्षक आनन्द क्षेत्रीले निर्वाह गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले सहभागी तथा विजेता टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आउँदा वर्षहरूमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।