काठमाडौँ- क्षेत्रपाटिमा रहेको ह्वाइटफिल्ड सेकेण्डरी स्कुलले ‘ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफको पाँचौँ संस्करण’ आयोजना गर्ने भएको छ। विद्यालयमा आज आयोजित एक पत्रकार सम्मेलन मार्फत सो बारे जानकारी गराइएको थियो। अघिल्ला चार वटा संस्करणहरू सफलतापूर्वक सञ्चालन गरिसकेको स्कुलले यही मङ्सिर २४ गते देखि २६ गतेसम्म पाँचौँ संस्करणको प्रतियोगिता सञ्चालन गर्ने भएको हो। । उपत्यकाव्यापी उक्त प्रतियोगितामा २५ विद्यालयहरूले भाग लिने तय भएको छ।
पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै ह्वाइटफिल्ड स्कुलका संयोजक राममणि बगालेले विगतदेखि नै विज्ञान हाजिरजवाफ फरक किसिमले गर्दै आइएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइने बताए। उनका अनुसार पहिलो चरणमा सहभागी प्रतियोगी विद्यार्थीहरूले मङ्सिर २४ गते ‘स्क्रिनिङ’ राउन्डमा सहभागी हुनुपर्नेछ। यो एक किसिमको बहु-वैकल्पिक प्रश्न भएको लिखित परीक्षा हुनेछ। यो परीक्षा मार्फत छनोट भएका २० विद्यालयले मात्रै भोलिपल्ट आयोजना हुने सेमिफाइनल राउन्डमा सहभागिता जनाउन पाउनेछन्। सेमिफाइनलका लागि ४ समूहमा प्रतियोगीहरूलाई विभाजन गरिनेछ। प्रत्येक समूहका विजेताले मात्रै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् र अन्तिम प्रतिस्पर्धा यिनै ४ समूहबिच मङ्सिर २६ गते हुनेछ।
सामान्य हाजिरजवाफको सट्टा विज्ञान विषयमा मात्रै केन्द्रित प्रतियोगिता किन भन्ने मात्र एजुकेसनको प्रश्नमा विद्यालयका प्रधानाध्यापक पारस श्रेष्ठले आजको दिनमा विज्ञानको महत्त्व अत्यधिक रहेकाले विज्ञानलाई प्राथमिकता दिइएको बताए। विज्ञान र प्रविधिमा भएको विकासले मानव संसार तीव्र परिवर्तन भइरहेको सन्दर्भमा प्रतियोगिताले विद्यार्थीको सिकाइमा अझ विशेष तरिकाले योगदान गर्ने उनको विश्वास थियो। उनले सामान्य हाजिर जवाफ सहित अन्य थुप्रै क्रियाकलापहरू पनि विद्यालयले गर्दै आएको उल्लेख गरे। यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटित हुने र २१ औँ शताब्दीका सिपहरू विद्यार्थीले प्राप्त गर्ने उनको भनाइ थियो।
हाजिर जवाफ प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीलाई विद्यालयले प्रमाणपत्र दिनेछ। त्यस्तै फाइनल पुग्न सफल हुने र विजयी हुने विद्यार्थीलाई मेडल, ट्रफी तथा प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ। प्रतियोगिताको सबै तयारी पुरा भइसकेको आयोजकले जनाएको छ।
