काठमाडौँ- वसुन्धरा काठमाडौँमा अवस्थित साउथवेस्टर्न स्कुल हालै भारतमा आयोजित कराँते च्याम्पियनसिपमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। भारतको पन्जाब स्थित तनाव सहरमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय कराँते दो च्याम्पियनसिपमा भाग लिन मङ्सिर २ गते भारत गएका विद्यार्थीहरू फर्किदा आ-आफ्नो उमेर र तौल समूहको पदक लिएर फर्किएका हुन्।
साउथवेस्टर्न स्कुल बाट सहभागी विद्यार्थीहरूमा मौलिक गोदारले उमेर समूह ९ वर्ष ४५ के.जी तौलमा स्वर्ण पदक प्राप्त गरेका छन्। त्यसैगरी आरोहण सिं श्रेष्ठले ८ वर्ष २३ केजी तौल उमेर समूहमा स्वर्ण पदक, जेनश ढकालले ८ वर्ष २७ केजी तौल उमेर समूहमा रजत पदक, सुरज गुरुङले ११ वर्ष ४५ केजी उमेर समूहमा स्वर्ण पदक, सुगम घिमिरेले ११ वर्ष ३० केजी उमेर समूहमा स्वर्ण पदक, जिप्सन बस्नेतले १२ वर्ष ५० केजी उमेर समूहमा स्वर्ण पदक, दिप्सन बस्नेतले ९ वर्ष ३० केजी उमेर समूहमा कास्य पदक र मोहन सापकोटाले १२ वर्ष २५ केजी उमेर समूहमा स्वर्ण पदक प्राप्त गरेका छन्।
दोस्रो अन्तर्राष्ट्रिय कराँते दो च्याम्पियनसिपमा प्राप्त यो सफलताको खुसी बाँड्दै साउथवेस्टर्नका प्रधानाध्यापक रमेश अधिकारीले विद्यालयको उत्कृष्टता पुनः एक पटक प्रमाणित भएको बताए। मात्र एजुकेसन सँग कुरा गर्दै उनले भने, “हामीले शैक्षिक सँगै अतिरिक्त क्रियाकलापलाई सधैँ उतिकै महत्त्व दिँदै आएका छौँ। अबका विद्यार्थीको सर्वपक्षीय विकास हुनुपर्छ र उनीहरू २१ औँ शताब्दीको प्रतिस्पर्धामा खरो उत्रन सक्ने विश्वस्तरीय नागरिक बन्नुपर्छ भन्ने विद्यालयको मान्यता रहेको छ। विद्यालयले त्यस किसिमका तयारी पनि आफ्ना विद्यार्थीहरूलाई गराउँदै आएको छ त्यसकारण यस्ता सफलताहरू पटक पटक प्राप्त हुने गरेका छन्। म पदक प्राप्त गर्न सफल सबै विद्यार्थीलाई विद्यालयको तर्फबाट हार्दिक बधाई सहित आगामी दिनका लागि शुभकामना दिन चाहन्छु। ” विद्यालयले शैक्षिक र अतिरिक्त क्रियाकलाप दुवैमा थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका पुरस्कारहरू प्राप्त गरिरहेको अधिकारीको भनाई थियो।
साउथवेस्टर्न स्कुल आइएसओ ९००१:२०१५ क्युएमएस प्रमाणित स्कुल हो।
