काठमाडौँ- अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा चाबहिल, सरस्वतीनगर स्थित रिलायन्स कलेजले प्रथम,द्वितीय र तृतीय स्थान हात पार्दै इतिहास रचेको छ । नेत्रहीन युवा संघ,नेपालद्वारा नयाँ वानेश्वर इन्द्रेणी स्वीट्सको रानी हलमा आयोजित भव्य कार्यक्रम बिच राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशभरिबाट माध्यमिक तह देखि स्नातक सम्म अध्ययनरत विद्यार्थीहरूको प्रतिस्पर्धात्मक सहभागिता रहेको थियो । प्रतिनिधि सभा सदस्य माननीय विद्या भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगिताको शीर्षक “बृहत् यौनिकता शिक्षा-यौन तथा प्रजनन स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच” रहेको थियो ।
प्रथम चरणको छनौट यस अघि मङ्सिर १३ गते सम्म तय गरिएको थियो । देशभरिबाट प्रतियोगीहरूले माथि उल्लेखित शीर्षकमा ३ मिनेटको भिडियो डिजिटल माध्यम मार्फत पठाएका थिए । प्राप्त सयौँ भिडियोहरूलाई निर्णायक मण्डलले सूक्ष्म मूल्याङ्कन मार्फत अन्तिम २० प्रतिस्पर्धीको छनौट गरेको थियो ।
प्रथम चरणको छनौट बाट अन्तिममा २० प्रतिस्पर्धीहरूको रोचक प्रस्तुति पश्चात् विजेताहरूको टुङ्गो लागेको हो । सो प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडेमी कक्षा १२ मा अध्ययन गर्ने छात्रा दिपिका ढुङ्गानाले प्रथम स्थान हासिल गरेकी छिन् भने सोही एकेडेमीकी कक्षा ११ मा अध्ययनरत दुई विद्यार्थी क्रमशः संगम कार्की र कृति पोखरेलले द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु. दश हजार रु. सात हजार र रु. पाँच हजार नगद द्वारा पुरस्कृत गरिएको छ । साथै विजेता विद्यार्थीलाई ट्रफी,प्रमाण पत्र र मेडल समेत प्रदान गरिएको छ । सो प्रतियोगितामा निर्णायकको भूमिकामा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ,यौन तथा प्रजनन स्वास्थ्य विज्ञ अनुप अधिकारी र अपाङ्गता अधिकार विज्ञ कलाधर भण्डारी रहेका थिए ।
उक्त प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीको वर्चस्व रहनुमा विद्यार्थीको मिहिनेत तथा कलेजले अतिरिक्त क्रियाकलापलाई दिएको विशेष महत्त्व रहेको रिलायन्स कलेजका प्राचार्य रवीन्द्र जङ्ग थापाले बताए । उनका अनुसार अबको शिक्षा किताबमा मात्र सीमित नभएर क्रियाकलापमा आधारित शिक्षा हुनुपर्छ भन्ने रिलायन्सको मान्यता रहेको छ । विद्यार्थीको चौतर्फी विकासका लागि समय सापेक्ष शिक्षा दिएर दक्ष जनशक्ति निर्माणमा अघि बढ्न रिलायन्स सदैव तयार रहेको उनको भनाई छ ।
मात्र एजुकेसन सँग कुरा गर्दै संस्थाका इसिए सिसिए समिति संयोजक गोविन्द ढकालले रिलायन्सले इसिए-सिसिए समिति नै खडा गरेर विगत पाँच वर्षदेखि विशेष पहल कदमीका साथ अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको बताए । वार्षिक कार्य तालिका बनाएर विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेकाले यस किसिमका ऐतिहासिक नतिजा प्राप्त भइरहेको उनको भनाई थियो।
