काठमाडौँ- चाबहिलको सेन्ट लरेन्स कलेजले प्लस टु तहमा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य कार्यक्रमका बिच कलेजले आफ्ना विद्यार्थीलाई स्वागत गरेको हो । सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । चर्चित कमेडियन मनोज गजुरेल विशेष अतिथि रहेको कार्यक्रममा अतिथिका रूपमा विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिहरू सहित सेन्ट लरेन्सका शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।
निकै आकर्षक स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रमलाई कलेजका प्लस टु कोअर्डिनेटर तथा कार्यक्रम सञ्चालक मुकुन्द ढुंगानाले कलेजको छोटो परिचय सहित औपचारिकता दिएका थिए । विगत २६ वर्षदेखि प्लस टु मा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको कलेजले कार्यक्रम मार्फत २७ औँ ब्याचलाई स्वागत गरेको उनको भनाई थियो ।
स्वागत मन्तव्य राख्दै कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले आफ्नो शिक्षाका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई सही निर्णय गरेकोमा धन्यवाद र बधाई दिए। आगामी दुई वर्ष विद्यार्थीको सर्वपक्षीय विकासका लागि कलेजले सबै प्रयास गर्ने उनको भनाइ थियो। विद्यार्थीहरूले कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम देखाउने तयारी गरेको हुँदा त्यसले पनि सेन्ट लरेन्सको परिचय दिने उनको भनाई थियो। कलेज बाट अध्ययन पुरा गरेर जीवनमा सफल भएका र विभिन्न परीक्षाहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल भएकाहरूलाई सम्मान कार्यक्रम समेत गर्न लागिएको हुँदा कार्यक्रम अझै विशेष बन्ने आफ्नो अपेक्षा रहेको सुवेदीले बताए। कार्यक्रमको सुरुवातमा विद्यार्थीले प्रस्तुत गरेको नृत्यले आफू पनि उत्प्रेरित भएको भन्दै उनले एउटा सुन्दर कविता वाचन गरेर समेत सुनाएका थिए। ।
विद्यार्थीहरूका तर्फबाट स्वागत मन्तव्य राख्दै हाल कक्षा १२ अध्ययनरत छात्रा सृष्टि घिमिरेले सेन्ट लरेन्स छान्ने निर्णय नवआगन्तुक विद्यार्थीहरूको सबैभन्दा राम्रो निर्णय भएको बताइन् । उनले आफू पनि कलेज कस्तो होला भन्ने दुबिधामै कलेज प्रवेश गरेको भए पनि आज कलेजको शैक्षिक वातावरण देखेर प्रभावित भएको उल्लेख गरिन्। सेन्ट लरेन्स हरेक हिसाबले उत्कृष्ट शैक्षिक संस्था भएकाले सबैको भविष्य उज्ज्वल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो।
सफलताको गौरवमय २६ वर्ष पूरा गरेर २७ औँ वर्षमा सञ्चालनरत कलेजले कार्यक्रम मार्फत आफ्नो गुणस्तरको पहिचान दिएको थियो । सेन्ट लरेन्स बाट आफ्नो शिक्षा पूरा गरेर हाल आ-आफ्नो क्षेत्रमा नेतृत्व गरिरहेका विद्यार्थीहरूलाई कार्यक्रममा राख्दै कलेजले आफ्नो पहिचान दर्साएको हो । कार्यक्रममा हाल कलेजमा अध्ययनरत रहेका र विभिन्न क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो । त्यस्तै वर्षका उत्कृष्ट शिक्षक तथा कर्मचारी पनि कार्यक्रममा पुरस्कृत भएका थिए।
कक्षा ११ का तर्फबाट धन्यवाद ज्ञापन गरेकी छात्रा अनिशा श्रेष्ठले अत्यन्तै राम्रो कार्यक्रम मार्फत स्वागत गरेको भन्दै कलेज प्रशासनलाई धन्यवाद दिइन् । आफ्नो उज्ज्वल भविष्यका लागि लामो र सफल इतिहास भएको कलेज छानेको उल्लेख गरेकी उनले सो निर्णय उत्कृष्ट थियो भन्ने यो ३ महिने यात्रामै बुझिसकेको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले सेन्ट लरेन्स १३ जना विद्यार्थी बाट सुरु भई आज करिब ४००० विद्यार्थीको परिवार भएको उल्लेख गरे। विगत २६ वर्ष देखि चाबहिलमा निरन्तर उत्कृष्टताको पर्याय बन्न सफल भएको भन्दै उनले विद्यार्थीहरूका सपना पुरा गर्न र भविष्य निर्माणका लागि कलेज प्रशासन सधैँ तत्पर रहेको बताए। सेन्ट लरेन्सले उत्पादन गरेका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलता नै कलेजको असली पहिचान भएको उनको भनाई थियो।
कार्यक्रमका प्रमुख अतिथि होडाले २७ औ वर्ष आउँदा कलेजले इतिहास निर्माण गरेको धारणा राखे । राष्ट्रलाई चाहिने सबै विधाका जनशक्ति कलेजले उत्पादन गरिरहेको देखेर आफू हर्षित भएको उनको भनाई थियो । ईश्वरमा आस्था राख्नाले मनुष्य जीवनले सार्थकता पाउने विचार व्यक्त गरेका उनले आमा, बुबा र गुरु भगवानको रूप भएको बताए । आफू जनप्रतिनिधि भएकाले विधिको शासन कायम गर्न चाहेको र त्यसका लागि असल नागरिक चाहिने भन्दै उनले त्यही काम सेन्ट लरेन्सले गर्दै आएको उल्लेख गरे । सेन्ट लरेन्सका विद्यार्थीले देशको कीर्ति अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास आफूले लिएको भन्दै उनले कलेजको उत्तरोत्तर प्रगतिको कामना गरे ।
कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले चाबहिलमा उत्कृष्ट कार्य र नतिजा सहित सेन्ट लरेन्स कलेज रहेको र निरन्तर रहने बताए। उनले विभिन्न विषयमा अध्ययन गरेर उच्च शिक्षाका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरूको नाम लिँदै बाँकी विद्यार्थीले पनि त्यस किसिमको नतिजा प्राप्त गर्नुपर्ने उल्लेख गरे। गुणस्तरमा सम्झौता नगरी आफ्नो उद्देश्य पूरा गर्नका लागि कलेज सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो । सेन्ट लरेन्स फाउन्डेसन मार्फत यो २७ वर्षमा आएको उतारचढावलाई पार गर्दै आज ४००० विद्यार्थी हुनु र ३०० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सफल हुनु गौरवको कुरा भएको उनले बताए । अभिभावकको सपना, विद्यार्थीको उद्देश्य र देशको आवश्यकता परिपूर्ति गर्न सेन्ट लरेन्स सधैँ सफल भएको उनको दाबी थियो। वर्षौँ देखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा प्रवेश गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने भन्दै उनले सबैलाई कार्यक्रममा स्वागत गर्दै औपचारिक कार्यक्रम समापन गरे।
औपचारिक कार्यक्रम समापन पश्चात् चर्चित कमेडियन मनोज गजुरेलको प्रस्तुतिले कार्यक्रम अझै रोचक बनेको थियो। त्यसपछि पनि सेन्ट लरेन्सका विद्यार्थीका प्रतिभाले भरिपूर्ण मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यार्थीहरूका गायन, नृत्य लगायतका प्रतिभाहरू मनमोहक देखिन्थ्यो। गायन र नृत्यमा झुमिरहेको प्रज्ञा प्रतिष्ठान हललाई समसामयिक नेपाली समाजको चित्रण गरिएको नाटक प्रस्तुतिले स्तब्ध बनाएको थियो। बेरोजगारी, वैदेशिक रोजगारी र त्यसले पारेको असर बारे प्रस्तुत नाटक विद्यार्थीले मञ्चमा प्रस्तुत गरेको भए पनि व्यावसायिक कलाकारको प्रस्तुति जस्तो देखिन्थ्यो।