Matra Education आइतबार, साउन १० २०८३

३ दिने युनाइटेड एकेडेमी मोडल युनाइटेड नेसन सुरु

३ दिने युनाइटेड एकेडेमी मोडल युनाइटेड नेसन सुरु

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर ७ २०८०


काठमाडौँ- कुमारीपाटी ललितपुर स्थित युनाइटेड एकेडेमीको आयोजनामा ३ दिने युनाइटेड एकेडेमी मोडल युनाइटेड नेसन (युए मुन) सुरु भएको छ। बिहीबार विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रम बिच समारोहको उद्घाटन भए सँगै युए मुन विधिवत् रूपमा सुरु भएको हो। पठन पाठन सँगै अतिरिक्त क्रियाकलापहरूलाई पनि विशेष जोड दिँदै आएको युनाइटेड एकेडेमीले आगामी ९ गतेसम्म चल्ने कार्यक्रम मार्फत पनि आफ्ना विद्यार्थीहरूको व्यक्तित्व विकास हुने विश्वास लिएको छ। कार्यक्रममा सहभागी हुने विद्यार्थी प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघका ७ वटा समितिहरू मार्फत विभिन्न एजेन्डाहरूमा छलफल/अन्तरक्रिया गरी अन्तिम निष्कर्ष दिने आयोजकले जनाएको छ।

‘एकतामार्फत समृद्धि’ भन्ने मूल नारा सहित आयोजना गरिएको कार्यक्रमको उद्घाटन एक भव्य कार्यक्रमका बिच गरिएको थियो। युनाइटेड एकेडेमीका प्रधानाध्यापक डा. लाल रापचा, युनाइटेड स्कुलकी प्रधानाध्यापक निरा प्रधान, युनाइटेड युनिभर्सल स्कुलका प्रधानाध्यापक राकेश श्रेष्ठ सहित संस्थाका विभिन्न तह तप्कामा कार्यरत व्यक्तित्वहरू र अन्य आमन्त्रित अतिथिहरूको समुपस्थितमा कार्यक्रम उद्घाटन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै युनाइटेड एकेडेमीका प्रधानाध्यापक डा. लाल रापचाले नमुना संयुक्त राष्ट्रसंघको कार्यक्रमलाई सम्बोधन गर्न पाउँदा खुसी लागेको बताए। उनले यो ऐतिहासिक अवसरले युनाइटेडका विद्यार्थीहरूमा विभिन्न सिपको विकास र आत्मविश्वास निर्माण गर्ने उल्लेख गरे। संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम गर्न खेलेको भूमिकाको चर्चा गर्दै उनले पृथ्वीलाई एउटा बस्न लायक ठाउँ बनाउन भएको यही सत्प्रयासको अनुसरण युए मुनमा गरिने उल्लेख गरे। विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मिएको भूमि भएका कारण शान्तिको उद्गमस्थल पनि नेपाल भएको उनको भनाई थियो। डा. रापचाले संस्थाको २६ वर्षे इतिहासमा पहिलो पटक आयोजित यस कार्यक्रमले अतिथि तथा सहभागी प्रतिनिधिहरूलाई संयुक्त राष्ट्रसंघको विभिन्न संयन्त्रहरू सिकाउने, विभिन्न मुद्धाहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने, त्यसबारे छलफल गर्ने र उपयुक्त निष्कर्ष निकाल्दै साझा सहमति मार्फत टुङ्गोमा पुर्‍याउने अभ्यास सिकाउने विश्वास व्यक्त गरे। कार्यक्रमका ७ वटा मुख्य उद्देश्य बारे प्रकाश पारेका उनले भोलिको सक्षम नेतृत्वकर्ताहरू उत्पादन गर्न कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे।

त्यस्तै युनाइटेड स्कुलकी प्रधानाध्यापक निरा प्रधानले युए मुन जस्तो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा गौरवको महसुस भएको बताइन। उनले तर्क गर्नु र वादविवाद गर्नु दुई फरक कुरा भएको भन्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा तर्कसंगत वादविवाद मार्फत उचित निष्कर्ष निकाल्ने बानीको विकास गराउने उल्लेख गरिन्। सहभागीहरूलाई सिकाइको उत्कृष्ट मञ्च तयार भएको भन्दै उनले आफू बाँचेको समयमा अन्तर्राष्ट्रिय समुदायमा छलफलमा रहेका जल्दाबल्दा मुद्धाहरु बारे बहस गर्दै समस्या समाधान गर्ने क्षमता विकासका लागि शुभकामना दिइन्।

कार्यक्रममा आफ्नो धारणा राख्दै युनाइटेड युनिभर्सल स्कुलका प्रधानाध्यापक राकेश श्रेष्ठले कोसिस गर्नु नै सफलताको बाटो तिर अघि बढ्नु भएको बताए। उनले युए मुनको आयोजनाले समग्र युनाइटेड एकेडेमी ग्रुपकै इज्जत बढेको उल्लेख गरे। विद्यार्थीहरूमा बोल्ने बानीको विकास, आत्मविश्वासको निर्माण, समालोचनात्मक चेतको विकास, समस्या समाधानको सिप विकास लगायतका सयौँ गुणहरू विकासका लागि कार्यक्रमले अर्थपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। उनले अथक मेहनतका साथ सुन्दर अवसर सिर्जना गरेको भन्दै युए मुनका महासचिव र उनको समूहलाई धन्यवाद दिए। श्रेष्ठले सबै सहभागीहरूको उत्कृष्ट सहभागिता र भूमिकामा हुने विश्वका जल्दाबल्दा समस्याहरू बारेको छलफल सुन्न आफूहरू उत्सुक रहेको भन्दै कार्यक्रम सफलताको शुभकामना दिए।

कार्यक्रममा युए मुनका उपमहासचिव शुभम् श्रेष्ठले सबैलाई स्वागत गर्न पाउँदा हर्षित भएको बताए। उनले युवा नेतृत्व निर्माणका लागि कार्यक्रम एउटा उत्कृष्ट अवसर हुने उल्लेख गरे। कार्यक्रम एउटा शैक्षिक क्रियाकलाप मात्रै नभई व्यक्तिको सर्वपक्षीय विकासको अमूल्य अवसर भएको उनको भनाई थियो। उनले सहभागीहरूलाई दिइएको विषयमा उचित अध्ययन अनुसन्धान गरी प्रस्तुत गर्न र युए मुनलाई सफल बनाउन आग्रह गर्दै छलफल सुरु भएको घोषणा गरे।

उक्त घोषणा पश्चात् संयुक्त राष्ट्रसंघका विभिन्न ७ वटा कमिटीहरूमा सहभागीलाई विभाजन गरी प्रत्येक समूहलाई दिइएको विषय माथि छलफल गराइएको थियो। सहभागीहरूले आ-आफ्नो समूहमा उत्कृष्ट प्रस्तुति दिएको आयोजकले जनाएको छ।

कार्यक्रम आगामी ९ गते शनिबार एक औपचारिक कार्यक्रम मार्फत समापन गरिनेछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड