काठमाडौँ- कोसी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयले माध्यमिक तहमा स्थायी नियुक्तिका लागि जिल्ला रोज्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ।
शुक्रवार एक सूचना जारी गर्दै निर्देशनालयले शिक्षक सेवा आयोगबाट प्रकाशित माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले आगामी ७ दिन भित्र आवश्यक कागजात संलग्न गरी निर्देशनालयको इमेल ठेगानामा पठाउन वा निर्देशनालयमा आफैँ उपस्थित भएर बुझाउन अनुरोध गरेको हो। उम्मेदवारहरूले नेपाली नागरिकता, प्रवेश-पत्र र क, ख र ग वर्गको अपाङ्गताको हकमा अपाङ्गताको परिचय पत्रको प्रतिलिपि समेत संलग्न गरी तोकिएको जिल्ला छनौट फाराम आफैँले भरेर सहीछाप गरी पठाउनुपर्ने सूचनामा उल्लेख छ।
तोकिएको म्याद भित्र निवेदन पेस नगर्ने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको सम्बन्धित विषयको रिक्त पद बाँकी रहेका जिल्लामा नियुक्तिको लागि सिफारिस गरी पठाइने पनि सूचनामा उल्लेख छ।