काठमाडौँ- काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न दरखास्त आव्हान भएको छ।
शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेका हुन्।
इच्छुक उम्मेदवारले मङ्सिर १ गतेसम्म दरखास्त दिन सक्नेछन् भने सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि समेत भएकाले मात्र दरखास्त दिन सक्नेछन्। आवेदन दिन चाहनेले माध्यमिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि पन्ध्र सय र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क तिर्नुपर्नेछ। महानगरले विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा प्रधानाध्यापक छनोट गर्ने जनाएको छ।
छनोटसम्बन्धी थप व्यवस्था दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम हुने सूचनामा उल्लेख छ। सूचना अनुसार बालापीठ आधारभूत विद्यालय, सिनामंगल, रुद्रमती आधारभूत विद्यालय, बानेश्वर, ईश्वर आधारभूत विद्यालय, स्वयम्भू, सबलद्यौला आधारभूत विद्यालय, लगन, कृष्ण मन्दिर आधारभूत विद्यालय, न्यौखामा प्रधानाध्यापक पद रिक्त रहेको छ।