काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले ‘अपेन किड्स गट ट्यालेन्ट सिजन ३’ सम्पन्न गरेको छ। २०७६ सालमा आयोजित पहिलो अपेन किड्स गट ट्यालेन्टको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गरिएको हो। प्रि स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गरेको अपेन केन्द्रीय समितिले जनाएको छ। कार्यक्रममा प्रि स्कुल पढ्ने ३७ विद्यालयका विद्यार्थीहरूको लोभलाग्दो प्रस्तुति देखाइएको थियो। साना बालबालिकाहरूको प्रतिभा प्रस्तुत गर्ने मञ्च बनाइएको भए पनि प्रस्तुतिहरू व्यावसायिक कलाकारहरूको जस्तो देखिन्थ्यो।
सेन्ट जेभियर्स स्कुलको सभाहल जावलाखेलमा आयोजित कार्यक्रम अपेनका केन्द्रीय अध्यक्ष बद्री दाहालको सभापतित्व र शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा अपेनको विभिन्न कमिटीका पदाधिकारीहरू सहित ३७ सदस्य विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक तथा कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न प्रि-स्कुलका गरी करिब ७४५ जना बालबालिकाहरूले सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति दिएका थिए भने करिब १५ सय अभिभावकहरूले प्रत्यक्ष उपस्थित भएर आफ्ना बालबालिकाको प्रस्तुति हेरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले आमन्त्रण गरेर साना बालबालिकाको सुन्दर प्रस्तुति हेर्ने अवसर दिएको भन्दै आयोजक प्रति आभार व्यक्त गरे। उनले आजका बालबालिकाको मनोविज्ञान अलग किसिमको हुने भएको हुँदा अभिभावकहरूले सोही अनुसारको व्यवहार गर्नुपर्नेमा जोड दिए। गौतम बुद्धको भूमिमा जन्मिएका नेपालीहरूले बुद्धले दिएको मध्यमार्गी बाटो अपनाउनु आजको आवश्यकता भएको बताएका उनले राष्ट्रिय गान लगायतका विषयहरू प्रयोगात्मक रूपमै सिकाउन अपेन सम्बद्ध प्रि-स्कुलहरुलाई आग्रह गरे। संस्कार र संस्कृतिको महत्वको चर्चा समेत गरेका उनले बालबालिकामा यस्ता विषयहरूले सकारात्मक प्रभाव पार्ने हुँदा भोलिको सन्ततिको भविष्य निर्माणका लागि मिलेर सबै लाग्नुपर्ने उल्लेख गरे।
त्यस्तै अपेनका केन्द्रीय अध्यक्ष बद्री दाहालले आधुनिक उपकरणहरूमा बढी रमाउने आजका बालबालिकालाई यस्ता सिर्जनात्मक क्रियाकलापमा संलग्न गराउँदा उनीहरूको बौद्धिक क्षमता विकास हुने उल्लेख गरे। बालबालिकाहरूले मञ्चमा चढेर आफूले जानेको प्रस्तुति देखाउँदै गर्दा उनीहरूमा म सक्षम छु भन्ने आत्मविश्वास बढ्ने र भविष्यका चुनौती सामना गर्न उनीहरू तयार हुने उनको विश्वास थियो। उनले मञ्चमा प्रस्तुति मात्रै देखिए पनि त्यसको तयारीका लागि शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनत लुकेको उल्लेख गरे। अपेनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रम आयोजना गर्दै जाने उनको प्रतिबद्धता थियो।
अपेनले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान पनि गरेको थियो।