काठमाडौँ- चाबहिल काठमाडौँमा रहेको टेक्सास इन्टरनेसनल कलेजले दसैँ विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार टेक्सास कलेजको सिफल ब्लकमा आयोजित कार्यक्रमले साँच्चै यो कलेज आफ्नो छुट्टै पहिचान बोकेको छ भन्ने कुरालाई प्रमाणित गर्दै सम्पन्न भएको हो। डिनर सहितको शुभकामना आदानप्रदान कार्यक्रममा कलेजमै बि.एच.एम अध्ययनरत विद्यार्थीले बनाएका परिकारहरूको स्वाद सँगै अतिथिहरूलाई विद्यार्थीको प्रस्तुतिले मन्त्रमुग्ध बनाइएको थियो ।
टेक्सास इन्टरनेसनल कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठको संयोजनमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भेषराज पोख्रेल, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्राध्यापकहरू प्रा. डा. राज कुमार भट्टराई, डा. गोपाल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै टेक्सास कलेजका सह-प्रधानाध्यापक युवराज बस्नेतले शुभकामना सहित उपस्थित अतिथिलाई धन्यवाद दिए।
शुभकामना आदानप्रदान कार्यक्रममा टेक्सासका विद्यार्थी, शिक्षक/शिक्षिका, कर्मचारीहरू सहित शुभचिन्तक शुभेच्छुकहरूको उपस्थिति रहेको थियो भने विभिन्न संघ संस्थालाई प्रतिनिधित्व गर्दै अतिथिहरूको पनि सहभागिता रहेको थियो।
हरेक वर्ष यस किसिमका कार्यक्रमहरू फरक तरिकाले गर्दै आएको टेक्सासले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको थियो। कार्यक्रम पश्चात मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सासका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले आज कलेजले उत्पादन गरेका बि.एच.एम. का विद्यार्थीहरूले नै भोलिको ‘हस्पिटालिटि इन्डस्ट्री’ धान्ने हुँदा उनीहरूलाई गेस्ट सर्भ गर्न सिकाउनु र उनीहरूले तयार गरेका डिसहरु अतिथिलाई चखाउनु कार्यक्रमको उद्देश्य भएको बताए। यस्ता कार्यक्रमले विद्यार्थी अझै उत्प्रेरित र मेहनती हुन्छन् भन्ने उनको विश्वास थियो।
यो बाहेक अर्को एउटा महत्त्वपूर्ण सन्देश पनि टेक्सासले आफ्नो कार्यक्रम मार्फत दिएको छ। कार्यक्रमको मध्यतिर स्टेजमा गीत गाउन उक्लिएको एउटा समूहमा टेक्सासका विद्यार्थी र शिक्षक दुवैको सहभागिता रहेको थियो। मिठो वाद्यवादनमा स्टेजमा गीत गुन्जिरहँदा स्वर दिँदै थिए कलेजका शिक्षकहरू। यसले टेक्सासका प्राध्यापकहरू वास्तवमै आफ्ना विद्यार्थीहरूलाई प्रोत्साहन र मार्गनिर्देश गर्नका लागि अब्बल छन् भन्ने प्रमाणित गरेको छ। त्यस्तै विद्यार्थीहरूले दिएको सांगीतिक प्रस्तुति अझै मनमोहक थियो। यस्ता प्रस्तुति विद्यार्थीका लागि एउटा सुखद संयोग र अनन्त स्मृति बन्न सक्छन्।
बि.एच.एम. को पढाइ दुई वर्ष अघि बाट मात्रै सुरु गरेको टेक्सासले आफ्नो गुणस्तर पनि कार्यक्रममा देखाएको थियो। कार्यक्रममा विद्यार्थीले बनाएका खानेकुरा कुनै प्रतिष्ठित तारे होटेलको भन्दा कम थिएन।
यहाँ क्लिक गरेर कार्यक्रमका केही तस्बिरहरु हेर्न सकिन्छ।